बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी सभापति पदका लागि आधा दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् । लुम्बिनीको पहिलो अधिवेशनबाट सभापति हुन इच्छुक नेताहरुले आफ्नो आकांक्षा आफूनिकट नेता कायकर्तामार्फत सार्वजनिक गराएका छन् ।
आकांक्षीहरुले आफू निकटका व्यक्तिलाई सभापतिको उम्मेदवार बन्न लागेको सन्देशसहित आफ्नो नाम र फोटो सहितको डिजिटल कार्ड बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्न लगाएर नतिजा आफ्नो पक्षमा पार्न खोजेका छन् ।
रास्वपाको प्रदेश अधिवेशन जेठ ३० गते दाङमा हुंदैछ । प्रदेशको मूल नेतृत्वका लागि अहिलेका सभापति देवराज पाठक, उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य एवं भौतिक पुर्वाधार मन्त्रालयका सल्लाहकार मधु अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, बुटवलकी मञ्जु ज्ञवाली भुसाल, बाँकेका डा.राजकुमार सुवेदी र प्रदेशका महामन्त्री निलराज अधिकारी मुख्य आकांक्षी देखिएका छन् ।
पाठक दाङ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । शालिकराम घिमिरे रास्वपा स्थापना कालदेखि पार्टीमा प्रदेश सदस्य कोषाध्यक्ष हुंदै उपसभापति भएका हुन् । मधु अर्याल रुपन्देही ३ का क्षेत्रीय सभापति थिए ।
उनी रुपन्देही ३ को उपचुनावका लागि ९ जना प्रारम्भिक उम्मेदवारमा छनोट भएका थिए । उनी मन्टेश्वरी स्कूल सञ्चालक र मन्टेश्वरी सामानका विक्रेता व्यवसायी समेत हुन् । गणेश पौडेल २०७९ को संघीय संसद चुनावमा रुपन्देही २ का उम्मेदवार हुन् । उनी विभिन्न वामपन्थी दलहरु परिवर्तन गर्दै रास्वपा बनेका हुन् ।
बांकेका अधिकारी शैक्षिक परामर्श केन्द्र र भाषा प्रशिक्षण केन्द्रका सञ्चालक हुन् । मन्जु भुसाल समानुपातिक संघीय सांसद हुन् । निर्माण व्यवसायी समेत रहेकी उनी विगतमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले हुंदै २०८२ सालमा रास्वपा प्रवेशी गरेकी हुन् ।
गोपाल घिमिरे गत फागुन २१ को चुनावमा रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी थिए । तर सुलभ खरेलले टिकट पाएका थिए ।
सभापतिमा आकांक्षीहरु कतिपयले आगामी प्रदेश सभा सदस्य र स्थानीय तहको उम्मेदवारी सुनिश्चित गर्ने वा पार्टी र सरकारी महत्वपूर्ण नियुक्ति/अवसर लिने रणनीति अनुसार पनि उम्मेदवारको दावी गरेको रास्वपाकै कतिपय नेताहरु बताउँछन् ।
रास्वपाकै कतिपय कार्यकर्ताले प्रतिनिधि सभा सदस्यले समेत प्रदेश सभापति ताक्नु गलत भएको सामाजिक सञ्जालमै लेखेका छन् ।
‘सांसदसंग ५ मिनेट भेटेर आफ्नो क्षेत्रको समस्या र कुरा राखौं भन्दा समय नदिनेहरु पनि प्रदेश सभापतिको उम्मेदवार भन्दै प्रचार गराएको देख्दा अचम्म लागेको छ’–ती कायर्यकर्ताले प्रश्न गर्दै लेखेका छन्–‘जहां पनि अवसर र पद चाहिने यस्तो व्यक्तिवादी चरित्रले पुराना पार्टी भन्दा रास्वपा कसरी फरक भयो ?’ महामन्त्री निलराज अधिकारीले सकेसम्म सर्वसम्मतको प्रयास हुने र नभए निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुने बताए ।
सभापतिका दावेदार शालिकराम घिमिरेले प्रदेश उपसभापति शालिकराम घिमिरेले उम्मेदवारी मनोनयन दर्तापछि मात्र वास्तविक उम्मेदवार को को हुन् भन्ने यकिन हुने बताए । नेतृत्वमा दावी गर्नु सबैको स्वतन्त्रता भएपनि एक भन्दा बढी जिम्मेवारीमा पार्टी केन्द्रले नै स्पष्ट मार्गनिर्देशन गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् ।
रास्वपा विधान अनुसार लुम्बिनी समिति ५७ सदस्यीय हुने व्यवस्था छ । रास्वपाको विधान अनुसार पहिलो चरणमा प्रदेश सभापति र प्रदेश सदस्यको निर्वाचन गर्नुपर्दछ । दोस्रो चरणमा पदाधिकारीका लागि छुट्टै मतदान गर्नुपर्ने व्यवस्था विधानमा छ ।
प्रदेश सभापतिमा निर्वाचित हुनका लागि कूल सदर मतको ५० प्रतिशत मत कटाउनु पर्दछ । खसेको मतको बहुमत कसैको पक्षमा नभएमा पहिलो र दोस्रो स्थान मत ल्याउने वीचमा पुन प्रतिस्पर्धा हुनेछ । प्रदेश सभापतिको प्रतिस्पर्धामा २५ प्रतिशत मत कटाउने निकटतम् प्रतिस्पर्धीलाई स्वतः प्रदेश सदस्य हुने व्यवस्था छ ।
प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष प्रवक्ता १/१ र सहमहामन्त्री २ जना (फरक फरक लिङ) को हुने गरी पदाधिकारी गठन गर्ने व्यवस्था छ । सात जना पदाधिकारी मध्ये कोषाध्यक्ष र प्रवक्तालाई प्रदेश सभापतिको सिफारिसमा प्रदेश समितिले मनोनित गर्ने व्यवस्था छ ।
प्रदेश अधिवेशनका लागि केन्द्रीय निर्वाचन विभाग र दुई जना केन्द्रीय प्रतिनिधिसमेत सहभागी हुने केन्द्रीय निर्वाचन विभागका सदस्य सुदन ज्ञवालीले जानकारी गराएका छन् ।
उनका अनुसार प्रदेश समिति, प्रदेशका जिल्ला समिति,प्रदेश समिति माथिका प्रदेशभित्रका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, विभागका पदाधिकारी र सदस्य,निर्वाचन क्षेत्रीय समिति संयोजक र सहसंयोजक, स्थानीय तहका सभापति सबै र महानगरबाट ४, उपमहानगरबाट ३, नगरपालिकाबाट २ र गाउंपालिकाको एकजना समेत पार्टी समितिबाट मनोनित भएर आउने प्रतिनिधि समेत अधिवेशनको मतदाता हुने छन् ।
उपसभापति घिमिरेका अनुसार लुम्बिनीको अधिवेशनको प्रतिनिधि संख्या ९ सय हारहारी हुनेछ ।
लुम्बिनीका १२ मध्ये ११ जिल्लामा अधिवेशन
प्रदेशका १२ जिल्लामध्ये पूर्वी रुकुममा अधिवेशन बाहेक अन्यमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन भएको छ । सांगठनिक रुपमा कमजोर रहेको पूर्वी रुकुमको अधिवेशनको मिति टुंगो लागेको छैन ।
पाल्पा, पश्चिम नवलपरासी र रोल्पामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । पश्चिम नवलपरासीमा रवि पाण्डेय, पाल्पामा विष्णु भण्डारी र रोल्पामा बलराम थापा सर्वसम्मत रूपमा सभापतिमा चयन भएका थिए भने अन्य ८ जिल्लामा मतदानमार्फत नेतृत्व टुंगो लागेको हो ।
रुपन्देहीमा महेन्द्र उपाध्याय, अर्घाखाँचीमा सीता पराजुली, गुल्मीमा हरि श्रेष्ठ, कपिलवस्तुमा शिवकुमार सुवेदी, दाङमा किरण खनाल, बाँकेमा विवेककुमार श्रेष्ठ, बर्दियामा शान्ता बुढा क्षेत्री तथा प्युठानमा विकास पोखरेल निर्वाचनमार्फत आएका हुन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दल परित्याग गरेर जिल्ला सभापतिमा चुनिनेहरू पनि छन् ।

