राधाकृष्ण मन्दिर पिपराको कृष्णजन्माष्टमीमा संकलित भेटीको आधा रकम बाढीपीडितका लागि सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगङ्गा । बाणगङ्गा नगरपालिका–२, पिपरामा अवस्थित राधाकृष्ण मन्दिर व्यवस्थापन परिवारले कृष्णजन्माष्टमीका अवसरमा संकलित रकममध्ये आधा रकम बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

भाद्र १९ गते कृष्णजन्माष्टमीका अवसरमा मन्दिर व्यवस्थापन परिवारको आयोजनामा सम्पन्न धार्मिक तथा सांगीतिक उत्सवमा सहभागी भक्तजनबाट स्वेच्छिक रूपमा संकलन भएको दान तथा भेटी रकम रु. २ लाख १५ हजार ६ सय ११ मध्ये कार्यक्रम सञ्चालनमा रु. ८२ हजार ५ सय ९५ खर्च भएको थियो। खर्च कटाएर बाँकी रहेको रु. १ लाख ३३ हजार १६ मध्ये आधा अर्थात् रु. ६६ हजार ५ सय १० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

मन्दिर व्यवस्थापन समितिले कृष्णजन्माष्टमीका अवसरमा संकलित रकममध्ये खर्च कटाएर बाँकी रकमको आधा बाढीपीडितलाई सहयोग गर्ने पूर्वघोषणा गरेको थियो। सोही घोषणाअनुसार रकम कोषमा जम्मा गरिएको संस्थाका कोषाध्यक्ष जनकराज गौतमले जानकारी दिनुभयो।

समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीका अनुसार बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले रु. ६६ हजार ५ सय १०को चेकमार्फत कोषमा रकम जम्मा गरिएको हो।

मन्दिर व्यवस्थापन समितिले धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्दै भक्तजन तथा श्रद्धालुबाट संकलित रकमको एक हिस्सा विपद् प्रभावित नागरिकको सहयोगमा समर्पण गरेको जनाएको छ।

धार्मिक कार्यक्रममा संकलित रकमलाई सामाजिक सेवामा समेत उपयोग गर्ने संस्कारले धार्मिक आस्था र मानवीय सेवाबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास समितिको छ। मन्दिर परिवारको यस कार्यलाई सामाजिक उत्तरदायित्व र सेवाभावको उदाहरणका रूपमा समेत हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *