गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ५ महिनादेखि सुनसान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएर सञ्चालनमा आइसकेपछि रुपन्देही र आसपासका नेतारअगुवा गर्वले छाती फुलाउँदैं ‘समृद्धि’को गफ दिन्थे । विमानस्थल सञ्चालनपछि जिल्लाको पर्यटन र त्यससँग सम्बन्धित व्यावसायमा कायापलट हुने उनीहरुले बताउँदै आएका थिए ।

तर, सञ्चालनमा आएको लामो समयसम्म अन्तर्राष्ट्रिय उडानको ठेगान नभएपछि अहिले निराशा व्यक्त गर्न थालेका छन् । पहिले विमानस्थल सञ्चालनका लागि भूमिका खेल्छु भन्ने व्यक्तिहरु नै अहिले दबाबका कार्यक्रममा जोड दिन थालेका छन् ।

बुद्ध जयन्तीको अवसर पारेर २०७९ जेठ २ गते विमानस्थल सञ्चालनमा आएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । देउवा अहिले पनि सत्ता गठबन्धनका प्रमुख नेता छन् । विमानस्थल निर्माणदेखि सञ्चालनमा भूमिका रहेको भन्दै भाषण गर्ने रुपन्देही–२, बाट प्रतिनिधिसभा सदस्य रहेका विष्णु पौडेल अर्थमन्त्री छन् ।

तर, विमानस्थल ५ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन छ । सन् २०२५ अप्रिलदेखि यहाँबाट अन्तर्राष्ट्रिय उडान भएका छैनन् । त्यसअघि सञ्चालनमा आएका उडान पनि मौसमी देखिएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा चुनावका बेला उम्मेदवारले सिँचाइ र मलको आपूर्तिलाई मुख्य नारा बनाउँछन् ।

तर, चुनाव जितेर पदमा पुगेपछि सिँचाइ र मल आपूर्ति कहिल्यैं सहज भएको देखिँदैन । आगामी दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय पनि चुनावी नारामा सिमित हुने सम्भावना बढेको स्थानीय बताउँछन् । विमानस्थल सञ्चालनलाई लिएर उत्साहित उनीहरुले कुराकानी गर्न छाडिसके ।

विमानस्थल लक्षित गरेर लगानी गरेका होटलररेष्टुरेन्ट नचलेर बिक्री गर्ने अवस्थामा पुगेपछि मन मरेको लगानीकर्ता बताउँछन् । सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख सञ्चालन अधिकृत लक्ष्मण थापाले वाचा गर्ने समय सकिएकाले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेर देखाउनुपर्ने बताए ।

‘अन्तर्राष्ट्रिय उडान नहुँदा प्रत्येक महिना रोजगारी, आम्दानी र सम्भावनाका अवसर गुम्दै गइरहेका छन्,’ उनले भने, ‘त्यसले चलाउछु भनेर वाचा गर्ने समय सकियो, अव कार्यान्वयन गर्ने बेला भयो ।’ यहाँको विमानस्थल नचल्दा काठमाडौं वा भारतीय मार्ग हुँदै विदेशी पर्यटक लुम्बिनी आउँदा उनीहरुको समय र लागत वृद्धि भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *