सल्यान । २०७९ असोज २१ को अविरल बर्सातका कारण कपुरकोट गाउँपालिका-५ सल्लाममा बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले तीन घर बगायो, ६ घर चर्किए ।
पहिरो जाने क्रममा नरोकिएपछि बस्तीका १४ परिवार विस्थापित भए । पहिरो त रोकिएको छ तर बर्सातको समय सुरु भएयता दैनिकजसो पानी परिहेको र छेउछाउबाट ढुंगामाटो खस्न थालेपछि अहिले पनि उक्त बस्ती पहिरोको उच्च जोखिममा छ ।
तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको सल्यानमा १ सय २६ बस्ती पहिरोको जोखिममा परेका छन् । जसका कारण झन्डै ४ हजार परिवार प्रभावित भएका छन् । १ सय २६ मध्ये ३५ उच्च जोखिममा छन् भने ९१ मध्यममा छन् । स्थानीय तह तथा विकासे कार्यालयले सडक निर्माणमा जथाभावी डोजर, स्काभेटर प्रयोग गर्दा जमिन हल्लिएका र बर्सातको समयमा परेको पानीले प्रत्येक वर्ष पहिरो जाँदा जिल्लाभरीका १ सय २६ बस्ती पहिरोको जोखिममा परेका हुन् ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण दार्मा गाउँपालिकाको वडा नं. २ मा लिरापाजा, डलसिंग,पाजाखोला, साउगाउँ, लिगाछाँप, ३ मा धुलखर्क, मैनेनी, लेखागाउँ, ४ मा रतिखोला, भल्चौर, मसिना, सर्सुखोला, गलात, ५ मा बछेला, लिरेडाँडा, लाम्पाखा, काउलाबोट, जलेखर्क, निगालपानी, भोल्टेगा, पोखरी, भालुखोला, बोहरी, ढाकाडाम कोट, तीनपोखरी, उत्तिसेनी, ढालढुंगा, अधेरीखोला, र ६ मा किमुटाकुरा, बडाचौर, ओलीगाउँ, सुनारगाउँ, मलिक्चा, मलिबांग पहिरोको जोखिममा परेका छन् ।
पहिरोकै कारण प्रत्येक वर्ष एक/दुई जनाले ज्यान गुमाइरहेका छन् ।
नगरपालिकाले डोजर लगाइ सडक खनेका र त्यसकै कम्पनले कमजोर भएका जमिन बर्सातको समयमा पानी पर्ने वित्तिकै पहिरो जाँदा दुई वर्षअघि बाँफुखोलाका ओखरेनी, जरेपानी, अँधेरी, तीनगैरी, चौराडाँडाका सय भन्दा बढी परिवार प्रभावित भएका बाग्चौर नगरपालिका-१२ बाफुखोलाका स्थानीय तथा पूर्व वडा अध्यक्ष दीपक ओलीले बताए ।
सडक खन्दा र रुखविरुवा मास्दा भएको भू-क्षयका कारण सल्यानका धेरै स्थानमा पहिरो गएको र गत वर्षको तथ्यांकअनुसार ९० स्थानका १ सय २६ हेक्टर क्षेत्रफलमा पहिरो गएको भू–संरक्षण कार्यालय सुर्खेतका सल्यान इन्चार्ज रहेका दीपेश केसीले बताए ।
पालिका तथा विकासे कार्यालयले डोजर प्रयोग गरी धमाधम खनेका सडककै कारण जिल्लाका अधिकांश बस्ती पहिरोको जोखिममा परेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । गत वर्षको बाढी पहिरोको तथ्यांक हेर्दा एक जनाको मृत्यु भएको, ९६ घर पूर्ण र १ सय ३३ घर आशिंक क्षति भएका र ६ सय ४ जना विस्थापित भएका उनले जानकारी गराए ।
पहिरो जाने स्थान धेरै भएको र अहिले बर्सातको समय सुरु भइसकेकाले विपद्को बैठक बसेर विपदबाट बचाउन जनचेतनामूलक कार्यक्रम गरिरहेको र सबै पालिकालाई सबै किसिमको तयारी गर्न आग्रह गरिएको उनको भनाइ छ ।


