शिवराजले सञ्चालन गरेको किसान लक्षित कार्यक्रम प्रभावकारी बन्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले किसानलक्षित काम गरेको छ। नगरभित्र पशुपालन गरेका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ।

पालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँस खेती गर्नेहरुको खातामा रकम, पशु ब्याएवापत भत्ता‚ दुध उत्पादनका आधारमा अनुदान दिएको पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताए।

आव ०८०/८१ मा १५५ जना कृषकले ४८५.५ कट्ठामा  घाँस खेती गरेवापत ७ लाख ९५ हजार रुपैयाँ अनुदान पाएका छन्। प्रतिकट्ठा १५ सय रुपैयाँका दरले उनीहरूले अनुदान पाएका हुन्।

नगरकै लोकप्रिय कार्यक्रम बनेको पशु ब्याएवापत चालू आवमा १ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ। १४६ वटा पाडापाडी तथा बाच्छाबाच्छी पालेका ६६ जना कृषकलाई १ हजार रुपैयाँको दरले सुत्केरी भत्ता वितरण गरिएको छ।

नगरपालिकाले दुग्ध उत्पादनको आधारमा अनुदान वितरण गरेको छ। नगरभित्रका २५२ कृषकले ४ लाख ८० हजार २७७ लिटर दुग्ध उत्पादन गरेको र त्यसवापत ८ लाख ९८ हजार ११८ रकम अनुदान दिएको शाखा प्रमुख खनालले बताए।  उत्पादनको आधारमा रहेको यो अनुदानले किसानलाई हौसला दिएको खनालको भनाई छ।

प्रति लिटर १ रुपैयाँ ८७ पैसाको दरले किसानलाई अनुदान दिइएको छ।

पालिकाले एक वर्षमा १०० वटा कुकुरको बन्ध्याकरण गरेको छ। कुकुरको संख्या बढ्दै गएको कुकुर बन्ध्याकरण गरिएको बताइएको छ।

गाई भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत १० वटा किसानलाई १ लाख रुपैयाँको दरले गोठ निर्माण गरिएको छ। बाखालाई पीपीआर, गाईभैँसीलाई खोरेत, भ्यागुते‚ चरचरे, लम्पीस्किन खोप लगाइएको खनालले बताए।

वास्तविक किसानलाई छनोट गरि अनुदान वितरण गरिएको कृषि विकास समितिका संयोजक नेत्रप्रसाद बेल्वासेले बताए। मागका आधारमा अनुगमन गरि अनुदान दिएको बेल्वासेले बताए।

शिवराज नगरपालिकाले कृषि र पशुलाई विशेष जोड दिएको नगर प्रमुख अजय थापाको भनाई छ। आवश्यकताको आधारमा अनुदानका कार्यक्रमहरू राख्ने र उत्पादन बढाउनुपर्नेमा जनाए।

आगामी वर्षमा पशु प्राविधिक थप्दै उपचारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *