बुटवल । दलीय समीकरण बदलिएपछि लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले हतािरएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) भने आफ्नै तालमा देखिन्छ ।
यदि जसपाका सांसद फिर्ता लिएको ठहर गरेर विश्वास मत लिनुपर्ने अवस्था आएमा साउन ७ गते भित्र जोख बहादुर महराले विश्वास मत लिनुपर्ने हुन्छ । तर सरकारले उक्त मितिको विषयमा मान्ने पक्षमा छैन । लुम्बिनी प्रदेश सरकार उद्योग, तथा पर्यटन मन्त्री खड्क बस्नेतले जसपाको काफ्लेले विश्वास मत फिर्ता लिएर अन्य दुई जना सांसदको सरकारलाई समर्थन रहेकोले विश्वास मत लिन नपर्ने सल्लाह भएको बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमसेनाले नयाँ सरकार निर्माणको लागि अनौपचारिक रूपमा संवादमा नै रहेको बताए । उनले पहिले माओवादीले सरकार छोडेपछि नयाँ सरकार गठनको विषयमा प्रवेश गर्ने बताए । यस्तै एमालेका मुख्य सचेतक तुलसी चौधरीले पहिला मुख्यमन्त्री बाहिरिएपछि नयाँ सरकार बनाउनको लागि कांग्रेस, एमालेलाई कुनै समस्या नभएको जिकिर गरे ।
माओवादी मुख्य सचेतक इन्द्रजीत थारुले अम्बिका काफ्लेले विश्वासको मत फिर्ता लिएको मिति अनुसार सरकारको विश्वासको मत नलिने बताए । उनले एमालेले फिर्ता लिएको विषयमा कानुनले दिएको समय भित्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयास गर्ने बताए । माओवादीले विश्वासको मत ल्याउन अन्य दलहरूसँग प्रयास गर्नु स्वाभाविक रहेको बताउँदै केन्द्रको रणनीति हरेर अगाडि जाने उनले बताए ।
उनले मुख्यमन्त्रीसँग राजीनामा र संसद् फेस दुवैको विकल्प रहेको खुलाए । लुम्बिनी प्रदेशमा २०८० साल चैत २३ माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमाले सहित ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा दलीय समीकरण फेरबदल भएपछि महरा सरकार सङ्कटमा परेको हो ।

