नेपाली खाना र पौष्टिकता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ। आज जनै पूर्णिमा धेरैले यसलाई ‘क्वाँटी’ पर्वका रूपमा चिन्छन्। परापूर्व कालदेखि नै आजको दिन विभिन्न प्रकारका पौष्टिक गेडागुडी भिजाएर उम्रिएपछि त्यसलाई राम्ररी पखालेर पकाएर खाने चलन छ। समुदाय अनुसार यसको नाम फरक होला तर पौष्टिक आहारका लागि यसलाई आधुनिक विज्ञानका चिकित्सकले सबैभन्दा राम्रो मानेका छन्।

आधुनिकतासँगै आजको समाज रेष्टुरेन्ट संस्कारमा रुमलिएको छ। तर विज्ञ भने नेपाली परम्परागत उत्पादन र खानामा नै पौष्टिक तत्त्व बढी पाइने दाबी गर्छन्। ‘‘नेपाली चाडपर्व तथा सांस्कृतिक चलनमा खाइने खानाहरू आफैमा वैज्ञानिक छन्’’, पोषणविद् डा। अरुणा उप्रेती भन्नुहुन्छ, ‘‘आजको दिन खाइने क्वाँटी सबैको स्वास्थ्यको लागि राम्रो पोषक तत्त्व हो।’’

हरेक दिन नेपालीको भान्छामा हुने परिकारले शरीरलाई चाहिने भिटामिन, प्रोटिन, आइरनदेखि लौह तत्त्व पुग्ने उहाँको विश्वास छ। ‘‘म त स्वास्थ्य शरीरका लागि नेपाली परम्परागत खानालाई पछ्याउन सुझाव दिन्छु। भात, रोटी, अचार, दाल, गेडागुडीको रस, मोही, दूध, सागपात मिलाएर खाए शरीरलाई उचित पोषण मिल्छ।’’

संस्कृतिविद् डा। जगमान गुरुङ आजको बजारको खानपान भन्दा परम्परागत रूपमै विभिन्न चाडपर्वमा खानेकुरामा पोषण तत्त्व बढी पाइने दाबी गर्नुहुन्छ। ‘‘वैशाखदेखि चैतसम्म हरेक महिना परम्परागत रूपमा विभिन्न चाडपर्वमा खाने परिकारमा पाइने पोषण नै हाम्रो स्वस्थ शरीरका लागि पर्याप्त हुन्छ। तर अहिले सहरीकरणले रैथाने खानेकुरालाई विस्थापित गर्दा मानिसमा विभिन्न स्वास्थ्य जटिलता देखिएका छन्।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *