कपिलवस्तुमा राष्ट्रिय परिचय पत्र बनाउनेहरुको भीड अत्याधिक बढेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सेवा लिन आउनेको संख्या उच्च भए पनि पर्याप्त व्यवस्थापन नहुँदा धेरैलाई हप्तौँसम्म पर्खिनुपर्ने बाध्यता सिर्जना भएको छ।
सेवाग्राहीहरुले पटक–पटक कार्यालय धाउनुपरेको गुनासो गरेका छन्। “बिहानैदेखि लाइनमा बस्दा पनि नम्बर पाउँदैनौं, फेरि अर्को दिन आउनु पर्छ,” यशोधरा गाउँपालिका( ५ का मनोज गुप्ताले भने, “राष्ट्रिय परिचय पत्र हाम्रो आधारभूत आवश्यकतामध्ये एक हो, तर यो बनाउन यति सास्ती खेप्नुपर्छ भन्ने सोचेको थिएन्। कोक्कन त दिईन्छ तर यस अनुसार काम हुन्न । नामको मात्र टोक्कन छ ।”त्यस्तै, मायादेवी गाउँपालिका–२ की अनिता चौधरीले पनि असन्तोष प्रकट गर्दै भनिन्, “दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेलाई पटक–पटक कार्यालय धाउन गाह्रो पर्छ। व्यवस्थापन गर्न सके सेवाग्राहीलाई सहज हुने थियो।”
प्रशासन पक्षले भने सेवाग्राही अत्याधिक भएकाले तत्कालै सबैलाई सेवा दिन नसकिएको स्वीकार गरेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका एक कर्मचारीले भने, “दैनिक सयौँ सेवाग्राही आउँछन्। प्राविधिक र जनशक्ति दुवैको कमी छ। हामीले सकेसम्म छिटो सेवा दिन प्रयास गर्दै आएका छौँ।”
सेवाग्राहीले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सहज बनाउन आवश्यक प्राविधिक स्रोत थप गर्ने र व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।


