चेतन विष्ट, कपिलवस्तु । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कपिलवस्तु बाट ९ हजार बढी परिक्षार्थीहरु सहभागि हुने भएका छन । आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुन लागेको परिक्षामा साधारण ग्रेडवृद्धि र प्राविधिक गरि कुल ९ हजार ५८ जना परिक्षार्थीहरु सहभागि हुन लागेका हुन ।
शिक्षा विकास तथा समन्व्य इकाइ कपिलवस्तुका साखा अधिकृत चोपलाल बेल्वासेले जनहित अनलाइनलाई दिएको जानकारी अनुसार जिल्लामा यसवर्ष साधारण तर्फ कुल ७ हजार ९ सय ३८ विद्यार्थी परीक्षामा सहभागि हुदैँ छन् । यस्तै ग्रेडवृद्धी तर्फ ७ सय २३ जना र प्राविधिक तर्फ ३ सय ९७ गरि कुल ९ हजार ५८ विद्यार्थी एसइइ परीक्षा दिने तयारीमा रहेका छन ।
कपिलवस्तुमा यस वर्ष थप एउटा परिक्षा केन्द थपि ३० वटा परिक्षा केन्द्र सञ्चालन गरिने भएको छ । गत वर्ष पनि २ वटा नयाँ परीक्षा केन्द्र थप गरी २७ बाट २९ बनाइएको थियो । जिल्लामा तोकिएका ३० वटै परीक्षा केन्द्रमा परीक्षा संचालनका लागि शिक्षा तथा समन्वय इकाइले तयारी तिव्र बनाएको छ ।
साखा अधिकृत बेल्वासेका अनुसार केन्द्र बाट मगंलबार मात्र आएका प्रश्नपत्रलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अहिले अन्य तयारीका कार्यहरु भैरहेको उहाँले बताउनुभयो ।
गत वर्ष नियमित तर्फ ८ हजार ९ सय ६६, ग्रेड बृद्धी तर्फ ३ सय २२ र प्राविधिक तर्फ ४ सय २३ जना गरी कपिलवस्तुमा कुल ९ हजार ७ सय ११ विद्यार्थीले एसइइ परीक्षा दिएका थिए ।
यसैबिच राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले एसइई परीक्षाको सबै तयारी सकिएको जानकारी दिएका हुन । उनका अनुसार उक्त परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका छन् । बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने जनाइएको छ । गत वर्ष करिब ५ लाख परीक्षार्थी परीक्षामा सहभागी थिए ।

