जनहित अनलाइन, कपिलवस्तु । छैठौं अर्घाखाँची कृषि, पर्यटन तथा औद्योगिक महोत्सव सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मिँयाले उद्घाटन गर्नुहुने भएको छ । यहि पौष २९ गतेदेखि माघ १२ गते सम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन मिँयाले गर्न लागेको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मुल समारोह समिति संयोजक प्रदिप मिश्रले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने र व्यवसायिक पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्य सहित सन्धिखर्कको कुंडुलेफाँटमा महोत्सवको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । अर्घाखाँची उद्योग वाणिज्य संघ आयोजको रुपमा रहेको महोत्सवमा जिल्लाको चिनारी झल्किने बिषेश झाँकी सहितका सांस्कृतिक प्रदर्शनीद्धारा अतिथि र सहभागीलाई स्वागत गरिने जनाइएको छ ।
उहाँका अनुसार ३ सय ५० स्टल रहने यो महोत्सवमा ५० स्टल अर्घाखाँचीको उत्पादनको बिक्रि र प्रबद्र्धनका निम्ती निशुल्क उपलब्ध गराइने छ ।
जिल्लाको भेष,भुषा, कला,संस्कृति र पर्यटनका सामाग्री, स्थानिय कृषि उपज, घरेलु तथा लघु उद्यममार्फत तयार भएका बस्तुको बिक्रि तथा प्रदर्शनको निम्ती ५० स्टल निःशुल्क रुपमा उपलब्ध गराइने अध्यक्ष मिश्रको भनाई छ ।
यो महोत्सवमा कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सवमा करिब ५ करोडको कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यपार, स्थानिय उत्पादनको प्रयोग रोजगारीको मूख्य आधार’ भन्ने नाराका साथ महोत्सव हुने भएको आयोजक उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम खनालले जानकारी दिनुभएको छ ।
१३ दिन सम्म संचालन हुने महोत्सवमा जिल्ला तथा जिल्ला बाहिरका विभिन्न विधाका ख्यातीप्राप्त चर्चित कलाकारहरुद्धारा बिशेष प्रस्तुद्धारा दर्शकलाई मनोरन्जन प्रदान गरिनेछ ।
अर्घाखाँची आइडल सहित जिल्लाका दर्जनौं सांस्कृतिक झाँकी तथा प्रस्तुती पनि महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवको आम्दानीबाट गत बर्ष पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको पर्यटन प्रबद्र्धन अभियान मार्फत तयार पारिएको जिल्लाको पर्यटकिय बृतचित्रको महोत्सव अवधिभर सन्धिखर्क र महोत्सव समापनपछि नरपानीमा डिजिटल बोर्डमार्फत प्रर्दशन गरि प्रचार प्रसार गर्ने योजना बनाएको उद्योग वाणिज्य संघको भनाई छ ।
अर्घाखाँची जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरि पर्यटन भित्राउन र जिल्लालाई चिनाउनका लागि महोत्सवले भुमिका खेल्ने आयोजकले विस्वाँस लिएको छ ।
२०६६ सालदेखि एक वर्ष बिराएर सञ्चालन हुँदै आएको महोत्सव कोभिड–१९ का कारण दुई वर्ष रोकिएर २०७९ सालमा सञ्चालन भएको थियो भने गत बर्ष महोत्सव हुन सकेको थिएन ।






