बुटवल । बुटवलको ठमेल उपनाम पाएको कालिका पथको होराईजन चोक नजिक हाईटेन्सन वालभित्र मोटरसाईकलसहित एक युवाको शव भेटिएको छ । कालिका खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अगाडि रहेको हाईटेन्सन विद्युत पोलभित्र एक जना युवाको शवसहित एनएस २०० मोटरसाईकल भेटिएको हो ।
करिब २० वर्षीय युवाको अर्धनग्न अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिए । प्रहरीले घटनाको छानबिन गरिरहेको छ । प्रहरीका अनुसार घटनास्थल नजिकका घरका सिसिक्यामेराहरुमा कैद भएका रेकर्ड जाच र अन्य काम भैरहेको छ । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।
घटनास्थल नजिक भेटिएका महेन्द्र टण्डनले घटनामा भेटिएको शव आफ्नो भतिज भएको बुटवल टुडेलाई बताए । २० वर्षीय गोपाल टण्डन आफ्नो भतिज भएको उनले बताए । शनिबार साथीहरुसंगै नुवाकोट गएका उनी दुई दिनदेखि घरमा सम्पर्क नभएपछि खोजतलास गर्दा सो स्थानमा शव भेटिएको हो । पाँच फिट अग्लो वाल नाघेर टण्डनको के कसरी मृत्यु भयो भन्नेबारे भने अहिलेसम्म खुलेको छैन ।


