बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष चैते धान रोपाइँको क्षेत्रफल घटेको छ । गत वर्ष ३ हजार ३८ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यो वर्ष २ हजार ६७७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ ।
निर्देशनालयका अनुसार अर्घाखाँचीमा गत वर्ष २०० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा अहिले १७० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । प्युठानमा गत वर्ष ४० हेक्टरमा चैते धान खेती भएकोमा अहिले ५५ हेक्टरमा रोपाइँ भएको छ ।
यस्तै रुपन्देहीमा गत वर्ष ६० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा अहिले ५४ हेक्टरमा रोपाइँ भएको छ । कपिलवस्तुमा गत वर्ष १० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष ५ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
नवलपरासीमा गत वर्ष ५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा यो वर्ष ७ हेक्टरमा रोपाइँ भएको छ भने दाङ जिल्लामा गत वर्ष १९८ हेक्टरमा चैते धान खेती भएको थियो । दाङमा यो वर्ष २ सय हेक्टरमा चैते धान लगाइएको छ ।
बाँके जिल्लामा गत वर्ष ३५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो । यो वर्ष भने ३६ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको निर्देशनालयले जनाएको छ ।
प्रदेश कृषि निर्देशनालयका बाली विज्ञ विवेक पन्थले चैत महिनाको पहिलो हप्तादेखि तेस्रो हप्ता रोपिने चैते धानका लागि लुम्बिनी प्रदेशमा हर्दिनाथ, चैते ५, चैते २, चैते ६ नामको बिउ किसानले प्रयोग गरेको बताए ।
बबई सिँचाइ आयोजना मर्मत कारणले बर्दिया जिल्लामा गत वर्षको तुलनामा चैते धान रोपाइँको क्षेत्रफल घटेका कारण समग्र प्रदेशमै यो वर्ष चैते धान खेतीको क्षेत्रफल घटेको उनको भनाइ छ । -रातोपाटी

