चेतन विष्ट, कपिलवस्तु । कहिले प्रकृतिको सुन्दरता, कहिले धार्मिक आस्था, त कहिले स्थानीय जनजीवन । एकै ठाउँमा भेटिने यिनै विविध दृश्यलाई क्यामेराको लेन्समा कैद गर्दै कपिलवस्तुका फोटोग्राफरहरू पहिलोपटक ‘फोटो वाक’ कार्यक्रम सम्पन्न गरेका छन । कपिलवस्तु फोटोग्राफर संघको १४औँ स्थापना दिवसको अवसरमा जिल्लामै पहिलोपटक आयोजना गरिएको फोटो वाक कार्यक्रम बाणगंगा नगरपालिका–९ स्थित कपिलधामदेखि रामदतिवन धामसम्म सञ्चालन गरिएको हो ।
प्रकृति, वातावरण, समाज, समुदाय, जनजीवन, धार्मिक तथा पर्यटकीय स्थल लगायतका विविध पक्षलाई तस्बिरमा उतार्ने र फोटोग्राफरहरूको सिर्जनात्मक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
संघका अध्यक्ष कृष्ण पाण्डेका अनुसार फोटो वाकमा कपिलवस्तुका विभिन्न क्षेत्रबाट आएका ४० भन्दा बढी फोटोग्राफर सहभागी भएका थिए । बाणगंगा, बुद्धभूमि, शिवराज, विजयनगर, कृष्णनगर, तौलिहवालगायतका क्षेत्रबाट सहभागी फोटोग्राफरहरूले कपिलधामदेखि रामदतिवन धामसम्मको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, स्थानीय जीवनशैली र पर्यटकीय सम्भावनालाई तस्बिर तथा भिडियोमा कैद गरेका हुन् । अध्यक्ष कृष्ण पाण्डेका अनुसार कपिलधामदेखि रामदतिवन धामसम्मको क्षेत्र धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले पहिलो फोटो वाकका लागि यही क्षेत्र छनोट गरिएको हो । “यो क्षेत्र विभिन्न दृष्टिले महत्वपूर्ण छ । यहाँको प्रकृति, धार्मिक स्थल, वातावरण र जनजीवनलाई क्यामेरामा कैद गर्दै जिल्लाका सम्भावनालाई बाहिर ल्याउने हाम्रो प्रयास हो,” पाण्डेले बताउनुभयो ।
फोटो वाकका क्रममा खिचिएका तस्बिरमध्ये उत्कृष्ट तस्बिर छनोट गरी नगद पुरस्कारसहित सम्मान गरिने पनि संघले जनाएको छ ।
कार्यक्रमको समापन समारोहमा बोल्दै सहयोगी संस्था सरेपानी सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष राजु खड्काले संघले आफ्नो पहिलो फोटो वाकका लागि आफूहरूको क्षेत्र छनोट गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले स्थानीय क्षेत्रको प्राकृतिक तथा पर्यटकीय महत्वलाई उजागर गर्न सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि वनले यस्ता रचनात्मक कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पुर्व अध्यक्ष अध्यक्ष रामचन्द्र बेल्वासेले फोटो वाकका लागि छनोट गरिएको क्षेत्र हरेक दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता गतिविधिले स्थानीय क्षेत्रको पहिचान स्थापित गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो । गैरनाफामूलक संस्थाका रूपमा संघले फोटोग्राफीको विकाससँगै समाज र समुदायको प्रवद्र्धनमा पनि आफ्नो भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो ।
कपिलवस्तु फोटोग्राफर संघका लागि यो कार्यक्रम केवल फोटो खिच्ने यात्रामात्र थिएन । क्यामेराको लेन्समार्फत स्थानीय प्रकृति, संस्कृति, धर्म, समुदाय र जनजीवनका कथालाई उजागर गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।
कार्यक्रम संघका सदस्य विवेक वि.सी.को संयोजकत्व तथा निवर्तमान सचिव कर्णबहादुर तिवारीको निर्देशनमा सम्पन्न भएको हो । संघका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा सरेपानी सामुदायिक वनका निवर्तमान अध्यक्ष विन्द्रबहादुर गुरुङ, संघका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
कार्यक्रम संघका उपाध्यक्ष शिव गुलाम चौधरीको स्वागत तथा सचिव कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

