सिद्धबाबा सुरुङमार्ग: ५७ प्रतिशत भौतिक प्रगति पूरा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएपछि कामले गति लिएको हो ।

अहिलेसम्म सुरुङमार्गको ५७ प्रतिशत भौतिक प्रगति र ५१ प्रतिशत वित्तीय पूरा भएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले मुख्य टनेल भुइँ भागको १ हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८ सय ३४ मिटर काम सकिएको इञ्जिनियर ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार अहिले सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।

सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ  । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ ।

सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ । दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ ।

इन्भर्ट र लाइनिङको काम सकेपछि एक दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम शुरू गरिने आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका गाडी ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण शुरू भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङ छिचोल्ने काम सकिसकेको छ ।

सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा शुरू गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *