लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा नेपालमै पहिलो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालहरूको उक्त मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको हो ।

अस्पतालले गत वर्ष ८९ अङ्क प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो । अस्पतालमा  आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । यस अस्पतालसँगै भक्तपुर अस्पतालले समेत समान ९० अङ्क प्राप्त गरेको छ ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउन पर्ने अवस्थाको अन्त्य हुँदैको बताए । मूल्याङ्कनको अङ्कमा मात्र होइन जनताले पनि महसुस गर्ने गरी काम गर्न निर्देशन समेत दिए।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले सेवालाई थप विस्तार र विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्याङ्कनमा प्राप्त अहिले नतिजा पर्याप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे ।

अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत एमआरआई सेवा सञ्चालन, गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएस मार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा विस्तार, चौबिसै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरू भएको जानकारी गराए ।

वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधन गरी बाहिर पठाउने व्यवस्था, आइभीएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको बताए।

अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *