प्रथम कपिलवस्तु व्यापार मेलाः मनोरञ्जन, उपहार, ज्ञान र सीपको मिश्रण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा विभिन्न उपाहार, मनोरञ्जन, ज्ञान र सिपको मिश्रण पाइने भएको छ । आगामि मंसिर ५ गतेदेखि १७ गते सम्म बाणगंगा नगरपालिका ८ बोडगाउँ स्थित मायादेवी रङ्गशालामा सञ्चालन हुन लागेको मेलामा यस्तो मिश्रण पाइने भएको हो ।

‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मूल नारासहित सञ्चालन हुन लागेको मेला बहुमुखी उत्सवका रूपमा प्रस्तुत हुने मेला मूल आयोजक समिति संयोजक खिमानन्द पौडेल (कपिल) ले जानकारी दिनुभयो ।

पौडेलका अनुसार मेलामा प्रवेश टिकट १०० रुपैयाँ राखिएको छ । टिकट काट्ने हरेक दर्शकले १०० रुपैयाँ बराबरको “गाईछाप सर्फ पाउडर निःशुल्क प्राप्त गर्ने भएकाले टिकट शुल्क प्रतिफलमै रूपान्तरण हुनेछ । त्यसमाथि, हरेक दिन एक जनाले लक्की ड्रमार्फत साइकिल उपहार पाउने छन् ।

मेलामा आउने सबैका लागि फ्री कफी तथा निःशुल्क स्वास्थ्य परीक्षण जस्ता जनमैत्री सेवाहरू उपलब्ध गराइनेछन ।

आयोजकले पहिलो मेलालाई कपिलवस्तुको आर्थिक, सामाजिक र सांस्कृतिक उचाइसँग जोडिएको ऐतिहासिक पहिचानयुक्त कार्यक्रम बनाउने लक्ष्य लिएको छ। मेला क्षेत्रमा कृषि–उद्यम, स्थानीय उत्पादन, घरेलु तथा साना उद्योग, पर्यटन सम्भावना, स्थानीय हस्तकला, आधुनिक प्रविधि र विभिन्न व्यापारिक स्टलहरू प्रदर्शनीमा रहनेछन्।
युवाहरुलाई लक्षित गर्दै कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, खानेकुरा स्टल, स्थानीय परम्परागत उत्पादन प्रदर्शन लगायत आकर्षक गतिविधिहरू राखिने मेला तयारी समितिले जनाएको छ ।

स्थानीय व्यवसाय, कृषि उत्पादन, नयाँ प्रविधि र पर्यटकीय आकर्षण एकै ठाउँमा हुने भएकाले आयोजनाले स्थानीय अर्थतन्त्र सुदृढ गर्ने, रोजगारी बढाउने र सम्बन्धित क्षेत्रको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

मेलाका मुख्य आकर्षणमा ‘कपिलवस्तु डान्सिङ स्टार प्रतियोगिता’, विभिन्न सांगीतिक कार्यक्रम, फुड फेस्ट, प्राविधिक प्रदर्शनी, कृषि नवप्रवर्तन प्रदर्शन जस्ता थुप्रै गतिविधि समेटिनेछन्। आयोजकले मेलामा करिब १ लाखभन्दा बढी दर्शक भित्रिने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *