वाणगंगा । श्री दुर्गा भगवती मन्दिरमा श्री गणेश पुराण कथा प्रवचन तथा धार्मिक अनुष्ठानमा श्रद्धालु भक्तजनको उत्साहपूर्ण देखिएको छ ।
शनिबार विहान कलश शोभा यात्रासहित शुभारम्भ भएको उक्त प्रवचनमा दैनिक भक्तजनहरुको उपस्थिती उत्साहपूर्ण देखिएको हो । सोमबार आज विशेष एकादशी परेकाले अखण्ड हरिनाम संकीर्तन, एकादशी महात्म्य कथा प्रवचन सहित फागुन १४ गते महाशिवरात्रि जलार्पण कार्यक्रम गरिने मन्दिर व्यवस्थापन समितिले जनाईएको छ ।
श्री दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको आयोजना तथा बैरिया युवा समाजको सह आयोजनामा फागुन १० गतेदेखि १४ गतेसम्म विविध धार्मिक कार्यक्रमहरू सञ्चालन भएका छन् । मन्दिर समितिका कार्यवाहक अध्यक्ष चुरामणी अधिकारीका अनुसार यस धार्मिक अनुष्ठानमा श्री गणेश पुराण कथा प्रवचन श्रवण गर्ने श्रद्धालु भक्तजनको साथ र सहयोग रहेको छ । स्थानीय समाजसेवीहरुले यज्ञ सफल बनाउन मन्दिरलाई आर्थिक तथा विभिन्न जिन्सी सहयोग गर्दै आइरहनु भएको छ ।
धार्मिक अनुष्ठानमा कथा व्यासका रूपमा प्रख्यात आचार्य विष्णु ज्ञवालीले दैनिक कथा प्रवचन दिदै आउनु भएको छ। पाँच दिनसम्म चल्ने संगीतमय श्री गणेश पुराण कथा प्रवचनले भक्तजनहरूलाई धार्मिक ज्ञान तथा आध्यात्मिक लाभ प्रदान हुने आचार्य विष्णु ज्ञवालीले बताउनुभयो । एकादशी, महाशिवरात्रीको अति उत्तम समय भएकाले श्री गणेश पुराण लगाएर स्थानीय भक्तजनलाई पवित्र बनाउने महान कार्य गरेकोमा मन्दिर व्यवस्थापन समिति, बैरिया युवा समाज सहित आयोजक सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।
बैरिया युवा समाजका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हाम्रो परम्परा, संस्कृति तथा रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता धार्मिक अनुष्ठानहरूको आयोजना गरिएको बताउनुभयो । साथै, धार्मिक अनुष्ठान सफल बनाउन दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिलाई निरन्तर सहयोग गरिएको जानकारी दिनुभयो ।
आयोजक समितिले शिवरात्रिको पावन अवसर पारेर आयोजना गरिने यस धार्मिक कार्यक्रममा सम्पूर्ण भक्तजन, नगरवासी तथा श्रद्धालुहरूलाई सहभागी भई पुण्य लाभ लिन अनुरोध गरेको छ। यज्ञ सफल बनाउन स्थानीय समाजसेवी, व्यवसायी, महिला समुह, टोल िवकास संस्था, संघसंस्था, विद्यालय, जनप्रतिनिधी, पत्रकारको सहयोग रहेको आयोजकले जनाएका छन् ।


