चालक तथा सह-चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
कपिलवस्तु । विद्यालय जाने बालबालिकाको सुरक्षा सुनिश्चित गर्न चालक र सहचालकको भूमिका निर्णायक हुने भन्दै कपिलवस्तुको वाणगंगामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।बाणगंगा नगरपालिकाको सभाहलमा इलाका प्रहरी कार्यालय पिपराको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा भएको कार्यक्रममा विद्यालय बसका चालक–सहचालकलाई लक्षित गर्दै सडक सुरक्षा र बालबालिकाको सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी दिइएको छ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक पञ्जक चुदालीले विद्यालय बस चालकलाई आधारभूत ट्राफिक नियम, सुरक्षात्मक मापदण्ड र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउँदै चालकको सचेतता नै दुर्घटना रोकथामको मुख्य आधार हुने बताएका छन् ।
कार्यक्रममा बाणगंगा नगर प्रमुख चक्रपाणि अर्यालले विद्यालय बस चालक–सहचालकको जिम्मेवारी भविष्यको पुस्तासँग जोडिएको भन्दै नगरपालिकाले यस किसिमका कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।उपप्रमुख रिता कुमारी चौधरीले विद्यालय व्यवस्थापनलाई सुरक्षित बनाउन चालक र सहचालक सचेत हुनु जरुरी रहेको बताएकी  छन् ।
त्यसैगरी इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र जिसीले विद्यालय बसमा सुरक्षात्मक उपकरणको अनिवार्य व्यवस्था गर्नुपर्नेमा जोड दिँदै चालक–सहचालकले कुनै पनि लापरबाही नगर्न आग्रह गरेका छन् ।  नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले सञ्चार माध्यममार्फत ट्राफिक सचेतना विस्तार गर्न सकिने भन्दै विद्यालय–अभिभावक–प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा बताएका छन् ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय सञ्चालक, शिक्षक, प्रहरी अधिकारीहरूसहित विद्यालय बस चालक–सहचालकको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रमले आफूहरूलाई थप सचेत बनाएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *