कोलम्बियामा विमान दुर्घटना, ६६ जनाको मृत्युु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । ल्याटिन अमेरिकी देश कोलम्बियामा वायुसेनाकाे विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएको छ । एयरफोर्सकाे हरक्युलस सी– १३० विमान टेकअपका क्रममा रनवेबाट करिब १.५ किलोमिटर टाढा गएर खसेकाे थियो । याे दुर्घटनामा थप ५० जनाभन्दा बढी घाइते भएका छन् भने ४ जना हराइरहेका छन् ।

दुर्घटनामा ५८ जना सैनिक, ६ जना वायुसेनाकर्मी र दुई प्रहरी अधिकारी मारिएका छन् । राेयटर्सका अनुसार कोलम्बियाई वायु सेनाका प्रमुख मेजर जनरल कार्लोस फर्नान्डो सिल्भाले विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य रहेको बताएका छन् ।

याे दुर्घटना पेरुकाे सीमानजिक दक्षिणी अमेजन क्षेत्रकाे प्युर्टो लेगुइजामोमा भएको हाे । रक्षामन्त्री पेड्रो सान्चेजले विमान रनवेबाट १.५ किलोमिटर टाढा खसेकाे जानकारी दिएका छन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभाे पेट्रोले सैन्य विमान दुर्घटना भएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले याे गम्भीर दुर्घटना भएको बताएका छन् । उनले सरकारले सेनालाई बलियो बनाउने र राम्राे सुविधा दिनेबारेमा काम गर्ने बताए ।

उनले सेनाका लागि नयाँ हेलिकोप्टर, ट्रान्सपोर्ट विमान र एन्टी–ड्रोन सिस्टम तत्काल खरिद गरेर सैनिक जवानकाे सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जाेड दिएका छन् ।

याे विमान २०२० मा अमेरिकाले कोलम्बियालाई दिएकाे थियो । याे विमान भर्खरै मर्मत गरेकाले खराब पार्ट्सका कारण दुर्घटना नभएको बताइएको छ ।

सी– १३० हरक्युलिस संसारको सबैभन्दा विश्वासिलाे सैन्य विमानमध्ये एक मानिन्छ, जसको प्रयोग सैनिक, हतियार र  राहत सामग्री पुर्‍याउन गरिन्छ ।

याे विमान कठिन र कच्चा रनवेमा पनि अवतरण गर्न सक्छ । यसले एकैपटक भारी सामान, हेलिकाेप्टर, बख्तरबन्द गाडी र राहत सामग्री लैजान सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *