कपिलवस्तु। कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका(९ इमिलियामा लाग्ने साप्ताहिक हाटबजारमा सिक्रि चोरी गर्दै गर्दा दुई युवक पक्राउ परेका छन्।
स्थानीयले समातेर उनीहरूलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा बुझाएका छन्।
प्राप्त जानकारी अनुसार, इमिलियाकै केशरी शर्माको गलाबाट सुनको सिक्रि चोर्न खोज्दा स्थानीयले चोरीमा संलग्न दुई जनालाई रंगेहात पक्राउ गरेका थिए। पक्राउ पर्नेहरूमा आफूलाई राजदीप र अभिषेक बताउने व्यक्तिहरू रहेका छन्।
घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीहरूले बताए अनुसार, हाटबजारमा भीडभाडको फाइदा उठाउँदै उनीहरूले महिलाको गहना चोर्न खोजेका थिए। तर, महिलाले समयमै चाल पाएर हल्ला गरेपछि स्थानीयहरूले उनीहरूलाई घेरा हालेर नियन्त्रणमा लिए। त्यसपछि, प्रहरीलाई खबर गरि उनीहरूलाई जिम्मा लगाइएको थियो।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार, पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भइरहेको छ।
स्थानीय बासिन्दाले साप्ताहिक बजारमा चोरीका घटना बढ्दै गइरहेको गुनासो गरेका छन्। यस घटनापछि सुरक्षाका उपायहरू कडा बनाउनुपर्ने मागसमेत उठेको छ।


