कपिलवस्तुमा पूर्वमन्त्री र प्रमुख दलका उम्मेद्वारकै धरौटी जफत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  तीनवटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा नेकपा एमालेका २ जना उम्मेदवार तथा एक पूर्वमन्त्रीसहति ८९ जनाको जमानत जफत भएको छ।

निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार तीन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका ९ जनाले मात्रै जमानत जोगाउन सकेका हुन्।

क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार विश्राम प्रसाद थारु, क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार दीर्घ नारायण पाण्डेय, क्षेत्र नम्बर ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री ईश्वर दयाल मिश्रले आफ्नो जमानत जोगाउन सकेनन्।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु जिल्ला क्षेत्र नं. १ बाट नेकपा एमालेका बलराम अधिकारी १५ हजार भन्दा बढी मतान्तरले जीत निकालेको क्षेत्रमा थारुले आफ्नो जमानत समेत जोगाउन नसकेका हुन्।

यहाँ अहिले रास्वपाका मोहनलाल आचार्यले ३४ हजार १८४ मत ल्याउँदा थारुले ७ हजार ९८१ मत मात्रै ल्याउँदै चौथो बन्न पुगे।

यता, क्षेत्र नम्बर २ का पाण्डेयले पटक पटक पार्टी परिवर्तन गरेर टिकट ल्याएपनि जमानत जोगाउन सकेनन्। कांग्रेसबाट राजनीति शुरु गरेका उनी कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका थिए। उनी लुम्बिनी प्रदेश सभा (कपिलवस्तु २ ‘क’) बाट एमालेका तर्फबाट सांसद बनेका थिए।

२०७८ सालमा पुनः  कांग्रेसमा गए र लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचन जिते। हाल उम्मेदवारी मनोनयनको अघिल्लो दिन कांग्रेसबाट एमालेमा गएर टिकट ल्याएपनि जमानत भने जोगाउन सकेनन्।

यो क्षेत्रमा पनि रास्वपाका विक्रम थापाले चुनाव जिते। थापाले २७ हजार ६३५ मत ल्याउँदा पाण्डेयले ७ हजार ३५७ मत ल्याउँदै चौथो स्थानमा छन्।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा मुक्ति पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री ईश्वर दयाल मिश्राले पनि जमानत जोगाउन सकेनन्। नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत पाउँदा मिश्राले ५ हजार १७ मत पाउँदै चौथो स्थानमा छन्।

कुन क्षेत्रबाट कति जनाले गुमाए जमानत?
क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार थारु सहित नेपाली कन्युनिष्ट पार्टीका उम्मेदवार कृष्ण कुँवर र जनमत पार्टीका उम्मेदवार नरेन्द्र प्रसाद चौधरीको पनि जमानत जफत भएको छ। यो क्षेत्रमा ३४ उम्मेदवार मध्ये ३१ जनाको जमानत जफत भएको हो।

यस्तै, क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार पाण्डेय सहित २५ जनाको जमानत जफत भएको हो। यहाँ २८ उम्मेदवार थिए।

क्षेत्र नम्बर ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री ईश्वर दयाल मिश्रा र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एहसान खाको समेत धरौटी जफत भएको छ। यहाँ ३६ मध्ये ३३ जनाको धरौटी जफत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *