काठमाडौँ। ‘साथी हु म दाइ नभन्नु ल’, ‘हरे शिव राम’, ‘दुई दिने यो चोला’ तथा ‘तिमी कति राम्री’ जस्ता दर्जनौँ कालजयी र सधैँ गुनगुनाइने हिट लोक दोहोरी गीतहरूका सफल गायक तथा सर्जक अमृत विश्वकर्माको नयाँ साङ्गीतिक कोशेली ‘पश्चिम पोखरा’ बजारमा आएको छ।
नेपाली लोक सङ्गीत आकाशमा एकपछि अर्को हिट गीत पस्किएर आम श्रोताको मनमा बस्न सफल बहुप्रतिभाशाली कलाकार विश्वकर्माको यो प्रस्तुतिले बजारमा फेरि अर्को बलियो तरंग पैदा गरेको छ। लामो समयदेखि नेपाली सुगम तथा लोक सङ्गीतमा अनवरत रूपमा लागेका स्थापित कलाकार अमृत विश्वकर्मा हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा हुनुहुन्छ।
आफ्नो कर्मथलो प्रवासमा भए पनि नेपाली माटो, कला, संस्कृति र संगीतप्रतिको अगाध प्रेमका कारण उनले सिर्जना यात्रालाई निरन्तरता दिँदै यो नयाँ गीत बजारमा ल्याएका हुन्। यसपटक गायक तथा सर्जक अमृत विश्वकर्मा र पछिल्लो समयकी सर्वाधिक व्यस्त एवं सुमधुर स्वरकी धनी गायिका शान्ति श्री परियारको युगल स्वरमा यो गीत सजिएको छ।
‘Amrit Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा मौलिक लोक लय र मनछुने शब्दको सुन्दर सम्मिश्रण भेटिन्छ। माया र मीठो गुनासोको कथा सार्वजनिक गीत ‘पश्चिम पोखरा’ मा मायालु जोडीबिच चल्ने मीठो संवाद, प्रेमिल शङ्का र उपेक्षाको भावलाई कलात्मक रूपमा बुनिएको छ। आफ्नो प्रेमी वा प्रेमिकाको नजिक पर्न खोज्दा पनि वास्ता नपाएपछि सिर्जना हुने कौतुहलता र साँचो प्रेमको मर्मलाई गीतका टुक्काहरूले दुरुस्तै उतारेका छन्। गीतमा भनिएको छ: “आफ्नै सम्झेर बोल्न खोज्छु म, बोल्नै खोज्दिनौ माया मनमा को छ र…” भिडियोमा जुना र अमृतको बेजोड अभिनय गीत जति मीठो र कर्णप्रिय छ, यसको भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ।
भिडियोमा स्थापित मोडल जुना विश्वकर्मा र स्वयम् गायक तथा सर्जक अमृत विश्वकर्माको बेजोड अभिनय र नृत्य देख्न सकिन्छ। नेपालीपन झल्कने भिडियोको निर्देशन, छायाङ्कन र सम्पादन पक्ष पनि निकै सवल रहेको छ, जसले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्न सफल हुन्छ। प्रवासबाटै नेपाली सङ्गीतको सेवा विगतमा दर्जनौँ सुपरिट गीतहरू दिएर नेपाली श्रोतामाझ आफ्नो बलियो जग बसालेका अमृत विश्वकर्माले प्रवास (कोरिया) बाटै नेपाली संगीतको सेवा गरिरहेका छन्।
यसअघिका उनका सबै गीतहरू जस्तै यो गीत ‘पश्चिम पोखरा’ ले पनि छोटो समयमै आम नेपाली सङ्गीत प्रेमीहरूको मन जित्ने, युट्युबमा राम्रो भ्यूज बटुल्ने र टिकटकलगायतका सामाजिक सञ्जालहरूमा निकै चर्चा कमाउने विश्वास गरिएको छ।
गीतको आधिकारिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्: https://youtu.be/LzBRyeXxwOE?si=pjRBhgvIxd–klH6

