कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वन उपभोक्ता समुहले संस्थाको १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । वन कार्यालय परिसरमा आयोजित कार्यक्रममा अमृते सामुदायिक वनले साधारण सभा सम्पन्न गरेको हो ।
अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा समुहका सचिव मीना सिंजापतिले वनको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन भने समुहका कोषाध्यक्ष सीता शर्मा न्यौपानेले कुल ७ करोड ९३ लाख ५२ हजार ५ सय ८१ रुपैयाँ ३५ पैसा बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गरिन । अमृते सामुदायिक वनले गत आ.व मा वन विकास, वन संरक्षण, वन संवद्र्धन, वन सदुपयोग जस्ता कार्यक्रमहरुलाई प्रभावकारी तवरबाट बजेट खर्च गरेको छ । यस्तै क्षमता विकासका कार्यक्रम संचालन, गरिबी न्यूनिकरणमा चासो, महिला शसक्तिकरण र सामाजिक विकासका सवालमा पनि वनको बजेटले प्राथामिकता दिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै कार्यक्रममा अमृते सामुदायिक वन उपभोक्ता समुहका लेखा समितिका संयोजक बिनोद पुनले लेखा प्रतिवेदन प्रस्तुत गर्दै दश बुँदे विषय वनका सवालमा उठान गरे । यस्तै उनले लेखा समितिका तर्पबाट ६ बुँदे सुझावहरु पनि प्रतिवेदन मार्फत दिएका छन । खासगरी वनले संचालन गरिरहेको घुम्तिकोषको रकमलाई बृद्धि गरि उपभोक्ताको घर खर्चलाई मात्र नभई आय आर्जनको क्षेत्रमा परिचालन गर्न सुझाव दिएका छन भने वार्षिक कार्यक्रम गर्दा कोटेसन अनिवार्य माग गर्न र कार्यसम्झौता गरेर मात्रै कार्यक्रम गर्न लेखासमितिका तर्फबाट सुझाव दिएका छन् ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले आ.व २०८२/०८३ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अमृते सामुदायिक वनले वन विकास र वन संरक्षणका कार्यक्रमलाई प्राथामिकतमा निरन्तरत दिएको बताए । उनले प्रतिवेदन मार्फत ४४ बुँदे आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । अध्यक्ष पौडेलको नीति तथा कार्यक्रमले खासगरी अमृते सामुदायिक वन उपभोक्ता समुहको सेवा क्षेत्र तथा उपभोक्ताहितका लागि वन डढेलो नियन्त्रणका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग स्कूल शिक्षा कार्यक्रम संचालन गर्ने, वन क्षेत्रभित्रबाट प्राप्त हुने ज्वलनशील पदार्थको प्रयोग गरी प्राङ्गारिक मल उत्पादन गर्ने, उपभोक्ता स्तरमा विभिन्न सीपमुलक तालिम संचालन गर्ने जस्ता कार्यक्रमलाई नविन ढंगले अघि सारेको छ । यस्तै उपभोक्ता समुहका परिवारका बालबालिका, युवा युवती तथा बृद्धवृद्धाहरुलाई समेत समेटी विभिन्न योजना अघि सारेको छ । गाउँ विकास तथा अधुरा योजनाको निरन्तरताका लागि समेत बजेट विनियोजन गरी अमृते सामुदायिक वनले स्थानीय सरकारसँग लागत साझेदारीका कार्यक्रमलाई पनि बजेटमा समावेश गरेको छ । अधिकाशं पुराना योजनाको निरन्तरता यसपटकको नीति तथा कार्यक्रममा समेटिएका छन भने केही नयाँ र पृथक योजनालाई पनि प्रयोगको रुपमा वनले ल्याएको देखिएको छ । सामुदायिक वनका अध्यक्ष पौडेलले आ. व २०८२/०८३ का लागि अनुमानित ६ करोड ५७ लाख ३३ हजार २०४ रुपैँयाको वार्षिक बजेट सार्वजनिक गरेका हुन । गत आ. वको ३ करोड ५२ लाख बढी रकम बैँक मौजदात रहेको अमृते सामुदायिक वनमा वनबाट उत्पादित काठको बिक्रि र नदिजन्य पदार्थको बिक्रिबाट प्राप्त स्रोतलाई नै मुख्य आम्दानीको रुपमा राखेको छ ।
प्रशस्त आम्दानीको स्रोत भएको अमृते सामुदायिक वनले गत आर्थिक वर्षमा स्थानीय तहसँगको लागत साझेदारीमा १६ सय मिटर सडक कालोपत्रे गरेको उल्लेख छ भने उपभोक्ता सिँचाई सुविधा विस्तारका लागि ९ सय ८० मिटर नहर निर्माण गरेको छ । जम्मा ३ सय ९ घरधुरी आबद्ध रहेको यो सामुदायिक वनमा १ हजार ४ सय ६८ जनसंख्या उपभोक्ताको रुपमा रहेका छन् । अमृते सामुदायिक वनको क्षेत्रफल ३२६ दशमलव ३७ हेक्टर रहेको छ । जहाँ मुख्य गरी साल, अस्ना, बाँझी, कुम्भी जस्ता रुखहरु आम्दानीको मुख्य स्रोतको रुपमा रहेका छन् ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय गोरुसिँगेका बरिष्ठ वन अधिकृत मोतिलाल पौडेलले अमृते सामुदायिक वनको १६ औँ वार्षिक साधारसभा कार्यक्रमको सफलताको शुभकामना दिदैँ वनको आम्दानीको स्रोतको सही परिचालन र यसमा उपभोक्ताको जिम्मेवारीलाई प्रभावकारी बनाउन आग्रह गरे ।
यस्तै वडा नम्बर ९ का वड अध्यक्ष कमल पौडेलले भलवाडमा सामुदायिक वनहरुबाट प्राप्त आम्दानीलाई स्थानीय सरकारसँगको लागत साझेदारीमा परिचालन गर्न सके समग्र वडाको विकासमा सहयोग पुग्ने भन्दै सामुदायिक वनहरुले वडाबाट बनाइने योजनासँग सहकार्यका साथ आफ्ना योजनामा कार्यक्रमहरुलाई राख्नुपर्ने बताए ।
यस्तै भलवाडका सामुदायिक वनहरुका तर्फबाट साहारा सामुदायिक वनका अध्यक्ष ठाकुर खनाल र वैज्ञानिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय गोरुसिँगका सहायक वन अधिकृत विवेक कुमार घिमिरेसहित समाजसेवी नारायण खनाल, हरिराज घिमिरे, वनका सल्लाहाकार गोपाल गिरी, राधा खनाल, सावित्रा पुरी लगाएत वनका विभिन्न समिति, उप समिति तथा वन उपभोक्ता सदस्यहरुको उपस्थिति रहेको थियो ।
सम्पन्न साधारणसभाको अवसरमा अमृते सामुदायिक वन उपभोक्ता समुहले भर्तापुर आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेको छ भने जेष्ठ नागरिकहरुलाई पनि नगदसहित सम्मान गरेको छ ।
कार्यक्रम उपाध्यक्ष मिरा पौडेलको स्वागत तथा सचिव मीना सिंजापतिको संचालनमा सम्पन्न भएको हो । –राजेन्द्र खनाल


