४८ दिन पछि सञ्चालनमा आयो रानीमहल जाने सडक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा । डेढ महिनादेखि मर्मतका लागि बन्द गरिएको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सडकको हात्तीढुंगा नजिक बैकुन्ठे भीरमा ढलान कार्य गर्नका लागि गएको माघ १७ गतेदेखि आइतबारसम्म ४८ दिन बन्द भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले बताए ।

ढलानको कामका साथै त्यसलाई २८ दिनसम्म पानी राखेर सुक्न दिन पर्ने भएकाले यातायात सुचारु गर्न केही ढिलाइ भएको हो ।

रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो । १५ किलोमिटर दुरीमा पुगिने रानीमहल सडक बन्द भएपछि तानसेन–हार्थोक–अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपरेको थियो । खानीगाउँ कल्लाबारीभएर जाने सडकसमेत स्तरोन्नतीका लागि बन्द हुँदा यात्रुले थप समस्या खेप्नु परेको थियो ।

कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि यहाँको सडक कच्ची र अप्ठ्यारो भीर रहेकाले यात्रुले दुःख पाएका थिए । खानीगाउँ देउराली हुँदै दैलातुङ भएर रानीमहल पुग्न सकिए पनि कच्ची र ग्रेड नमिलेको सडकले समस्या छ । पर्यटकीयस्थल रानीमहल दैनिक ५ सय बढी यात्रु ओहोरदोहोर गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *