बिष्णु खरेल, जनहित अनलाइन । कपिलवस्तु उद्योग बाणिज्य संघले “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ आयोजना गरेको १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।
भोलि देखि सुरु हुने महोत्सवको तयारीको कामहरु ९५ प्रतिशत सकिएको छ । कमपाउण्ड, स्टल, गेट, सचिवालय लगाएतको काम सम्पन्न भईसकेको र बाँकी मञ्च र अन्य सौन्दर्यीकरण लगाएतका सबै काम आज सकिने सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिएका छन । विगतका महोत्सवहरु भन्दा फरक र पृथक ऐतिहासिक महोत्सव गराउने लक्ष रहेको उनको भनाइ छ ।
उनले हरेक दिन टिकटको रङ्ग परिवर्तन हुने जानकारी दिदैं यसले डान्स आईडललाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनेमा आफु विश्वस्थ रहेको बताएका छन । टिकटको रंग भने अहिलेनै सार्वजनिक नगर्ने बताएका छन । टिकट दर विधार्थीका लागि ५० रुपैयाँ र अन्य व्यक्तिका लागि ७० रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।
उनले विभिन्न समिति उपसमिति द्धारा कामहरु भएको भन्दै यसले तयारीमा आफुलाइ धेरै सहज भएको बताएका छन । अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने र स्थानीय तथा घरेलु उत्पादनलाई यस महोत्सवले प्राथमिकता दिदै निशुल्क तथा सहुलिएत स्टल उपलब्धले जनमानसमा सकारात्मक सन्देश जाने उनको भनाइ छ । यस महोत्सवबाट दर्शकले उत्सवको प्रत्याभूति लिने आयोजकको भनाइ छ ।
भोलि नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।
१५औं कपिलवस्तु महोत्सव मंसिर १९ देखि पौस २ गते सम्म बाणगंगाको बुद्ध रंगशालामा सञ्चालन हुदै छ ।


