सुनसरी । धरानमा कक्षा १२ मा अध्ययनरत एक युवती घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार फेला परेकी छन् । धरान उपमहानरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारीसमेत रहेका डीएसपी भण्डारीका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। ‘घटनामा संलग्न चाँडै पक्राउ पर्छन्। यस विषयमा थप विवरण हामी पछि भनौँला,’ उनले भने। घटनापछि त्यस क्षेत्रका केही मान्छे फरार छन्। प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ।
बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन्। सडक छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला पारिएको जनाएको छ। युवतीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

