कपिलवस्तु। बाणगंगा नगरपालिकाका–१, ३, ४ र ५ का उपभोक्ताहरु रहेको बाणगंगा–८ स्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १४औँ साधारण सभा बुधबार सम्पन्न भएको छ। बाणगंगा–४ स्थित श्रीपेच होटलमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ९ करोड ८४ लाख ९८ हजार ५ सय ९४ रुपैयाँ बजेट विभिन्न शिर्षकमा सर्वसम्मत पारित भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले वन संरक्षण, व्यवस्थापन र उपयोगमा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । अर्याले वन ऐन २०७६ र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तह र वन क्षेत्रको सहकार्यलाई प्राथमिकता दिएको छ, ूवनजन्य उत्पादनको बिक्रीबाट प्राप्त आम्दानीलाई पुनः संरक्षणमै लगानी गर्दै वनलाई सामाजिक विकास, उद्यमशीलता र गरिबी निवारणसँग जोडेर लैजानु पर्ने बताए ।
कार्यक्रममा डिभिजनल वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनले वन संरक्षणका साथै उपभोक्ताको जीवनस्तर उकास्ने खालका व्यावहारिक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले प्राविधिक तथा प्रशासनिक दायराभित्र रहेर वनको दिगो व्यवस्थापन गर्न डिभिजनल वन कार्यालय सदैव सहयोग गर्न तयार रहेको बताए ।
त्यसैगरी, मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एवम वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले वन क्षेत्रको अतिक्रमण नियन्त्रण र अग्नि नियन्त्रण जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न उपभोक्ता स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे। उनले स्थानीय तह र सब–डिभिजन कार्यालयसँगको समन्वयमा वैज्ञानिक तरिकाले वन पैदावारको उपभोगमा जोड दिए ।
कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका केन्द्रीय अध्यक्ष तथा संस्थापक अध्यक्ष रेनु सेन लगायतले शुभकामना मन्तव्य राखेका थिए । लुम्बिनी प्रदेश अध्यक्ष दीपक थापा, महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराई, स्थानीय वडाध्यक्षहरू, पत्रकार, सामुदायिक वनका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा श्रृङ्गीघाट सामुदायिक वनका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी (सुशील) ले संस्थालाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबै पक्षको निरन्तर सहयोगको अपेक्षा राखेको बताए। साधारण सभामा संस्थाकी सचिव सुस्मा खाँण, कोषाध्यक्ष बिना राना र लेखा संयोजक गुरुदेव पौडेलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बुद्ध शाहीको रहेको थियो ।

