शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण सरकार अस्थिर: मन्त्री शर्मा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण सरकारमा अस्थिरता आएको बताएकी छन् ।

संवैधानिक र कानुनी बाध्यता नहुन्जेलसम्म पटक पटक सरकार परिवर्तन भइरहने समस्या आउने मन्त्री शर्माले बताइन् । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार राखेको पत्रकार भेटमा बोल्दै मन्त्री शर्माले संवैधानिक र कानुनी बाध्यता बनाउन सकियो भने मात्र स्थायी सरकार बन्ने बताउँदै जो सरकारमा भए पनि सरकारमा बसुन्जेलसम्म राम्रो काम गर्ने कोशिष गर्नुपर्ने बताइन् ।

स्थानीय तहमा जस्तै कानुन ल्याउन सकियो भने मात्र समस्याको समाधान हुने बताउँदै अहिलेको शासकीय स्वरुप, निर्वाचन प्रणाली र संविधान र कानुनले दिएको व्यवस्थामा सरकार कतिन्जेल चल्छ भन्ने थाहा नहुने उनले बताइन् । राजनीतिक दलबीच सहमति बनाएर सबै क्षेत्रबाट सहयोग भयो भने संविधान संशोधन गरेर स्थिर सरकार बनाउने वातावरण बन्ने मन्त्री शर्माले बताइन् । सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले सरकार भर्खरै परिवर्तन भइहाल्छ कि भन्ने पनि नहुने र तत्काल हुन्न भन्ने पनि अवस्था नरहेको बताइन् ।

संविधानका मौलिक हक हेर्ने हो भने अहिलेको गुनासो गर्ने अवस्था भन्दा माथि उठ्न सकिने मन्त्री शर्माले बताइन् । ‘जुन जस्तो अभिष्ठ, उत्साहसहित व्यवस्था परिवर्तनमा लाग्यो, त्यो उत्साह अहिले देखिँदैन,’ उनले भनिन्, ‘लिखित रुपमा ऐन, कानुन भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा जनतामा निराशा छाएको हो ।’

संविधान, कानुनमा जे लेखिएका छन् त्यो पालना हुन नसकेकाले नै अहिलेको परिस्थिति आएको उनले बताइन् । यही संविधान, कानुनअनुसार नेतृत्व सरकारले गर्नुपर्ने उनले बताइन् । सबै राजनीतिक दल, नागरिक समाज मिलेर कार्यान्व्यनमा लाग्नुपर्नेमा उनले जोड दिइन् । ‘कतिपय संघीयतासँग सम्बन्धित कानुन बनाएर अघि बढ्नुपर्ने अवस्था पनि छ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *