लुम्बिनी प्रदेशका ६६ प्रहरी एकाइ भाडाकै भवनमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तुलसीपुर ।  लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा रहेका तीन सय २२ प्रहरी एकाइमध्ये ६६ वटा एकाइ भने अझै भाडाबाटै सेवा दिइरहेका छन् । लुम्बिनी प्रदेशमा भवन र जग्गा दुवै भएका एकाइ दुई सय १७ र भवन जग्गा दुवै नभएका एक सय पाँच वटा एकाइ छन् ।

लुम्बिनी प्रदेशका प्रहरी कार्यालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले जग्गा भएको तर भवन निर्माण नभएको ७० वटा एकाइ भएको जानकारी दिनुभयो । उहाँले अन्य सङ्घ संस्थाकै भवनमा रहेर ७४ वटा एकाइबाट सेवा दिँदै आएको बताउनुभयो ।

प्रहरी प्रमुख दानबहादुर कार्कीले जग्गा प्राप्त भएका केही स्थानमा भने स्थानीय सरकारबाट भवन निर्माण भएको जानकारी दिनुभयो । उहाँले प्रहरीको सेवालाई थप चुस्तदुरुस्त बनाउनका लागि भवनसमेत अपरिहार्य रहेकाले स्थानीय सरकारले आफ्ना भवन बनाउने क्रममा प्रहरीका लागि समेत भवन निर्माणलाई प्राथमिकतामा दिए सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।

एक महिनाको अवधिमा लुम्बिनी प्रदेशमा भएका चार सय दुई वटा सवारी दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल तीन सय ४४ वटा दुर्घटना भएका थिए । एक महिनाको अवधिमा लुम्बिनी प्रदेशमै सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको थियो भने सात सय ४५ जना घाइते भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *