बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने निश्चित भएको छ । संघीय सरकारमा गठबन्धन फेरिएसँगै कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विस्थापित गरेर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्न लागेका हुन् । उनी रोल्पा क्षेत्र नम्बर १ ९१०बाट निर्वाचित हुन् । महरा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।
माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा छन् । चैत २२ गतेभित्र मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ । तर, नयाँ गठबन्धनमा एमाले, माओवादी, जसपा, नेकपा एस र एक जना ुमाओवादीनिकटु स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी भइरहेको छ । सत्तापक्षका दलहरूले नागरिक उन्मुक्तिले पनि माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गर्दै आएका छन् । तर, नागरिक उन्मुक्ति भने अनिर्णित छ ।
लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जसपाका ३, नेकपा एसका १ र एक जना माओवादीनिकट स्वतन्त्र प्रदेश सभा सदस्य छन् । नागरिक उन्मुक्ति सरकारमा सहभागी नभए पनि जसपा, एस र स्वतन्त्रको समर्थनमा सरकार बनाउने गरी माओवादीले छलफल सुरु गरेको छ । मुख्यमन्त्री चौधरीले पनि अन्तिमसम्म सरकार जोगाउने गरी प्रयास गरिरहेका छन् । कांग्रेस नेतृत्वको सरकारलाई लोसपा, जसपा, नागरिक उन्मुक्ति, जनमत, नेकपा एस र राष्ट्रिय जनमोर्चाको समर्थन छ । संघीय सरकारमा नयाँ गठबन्धनमा सहभागी भएको जसपाले अहिलेसम्म पनि सरकार छोडेको छैन ।
त्यस्तै नेकपा एसले पनि समर्थन फिर्ता लिएको छैन । दुवै दलले समर्थन फिर्ता नलिएको र ४ प्रदेश सभा सदस्य ९एक निलम्बन० रहेको राप्रपाले पनि कांग्रेसलाई समर्थन गर्ने संकेत गरेका छन् । त्यसैले मुख्यमन्त्री चौधरीले नागरिक उन्मुक्ति र माओवादीनिकट स्वतन्त्र प्रदेश सभा सदस्यलाई पनि मन्त्री बनाएर सरकार जोगाउने प्रयास गर्ने तयारीमा छन् । लुम्बिनीमा हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिनका लागि बर्खे अधिवेशन आह्वान गर्नुपर्छ । त्यसका लागि मंगलबार पार्टी र कांग्रेसका मन्त्रीसँग छलफल गरेर अधिवेशन आह्वान गर्ने तयारी भइरहेको मुख्यमन्त्री चौधरीले बताए । ‘राजीनामा गर्ने कि विश्वासको मत लिने भन्ने अझै टुंगो भएको छैन, आज पार्टीसँग सल्लाह गरेर निधो गर्छु,’ उनले भने, ‘राजीनामा नै दिएपछि संसद्मा छलफल गरेर, आफ्ना कुरा राखेर मात्र दिन सकिन्छ ।’
माओवादी संसदीय दलका नेता महराले आफू चैत २३ गते एमालेकै समर्थनमा बहुमतसहित मुख्यमन्त्री नियुक्त हुने दाबी गरेका छन् । ‘केन्द्रमा गठबन्धनभित्र लुम्बिनी प्रदेशमा माओवादीको मुख्यमन्त्री बन्ने विषय टुंगो लागिसकेको छ,’ उनले भने, ‘अन्य प्रदेशमा केही समस्या छ, त्यसैले सार्वजनिक भएको छैन ।’ केन्द्रको संकेतपछि आफू सरकार गठनको तयारीमा जुटेको र छलफल सुरु गरेको उनले बताए ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने केन्द्रमा छलफल जारी रहेको र कुन दलले मुख्यमन्त्री लिने भन्ने विषयमा कुनै टुंगो नलागेको बताए । ‘भोलिसम्ममा टुंगो लाग्छ भन्ने सुनेको छु,’ उनले भने, ‘अघिल्लो कार्यकाल ३ महिना पनि काम गर्न नपाएकाले अहिले एमालेले नै फेरि जिम्मेवारी पाउनुपर्छ ।’ मुख्यमन्त्रीका लागि एमालेले पनि आफ्नो दाबी नछोडेको उनले बताए ।
नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा माओवादीले मुख्यमन्त्री पाउने निश्चित भएको बताए । ‘लुम्बिनीमा हामीले सरकार गठनको प्रक्रिया सुरु गरिसकेका छौं, केन्द्रबाट पनि सम्भवत आज नै सर्कुलर आउन सक्छ,’ उनले भने, ‘सरकार गठनका लागि आज दल नेताले बुटवलमै एमाले र साना दलसँग छलफल गर्ने तयारी छ ।’ बुधबार नै बहुमत सदस्यसहित माओवादीले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखकहाँ जाने गरी तयारी भइरहेको उनले बताए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा राप्रपाका एक प्रदेशसभा सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । सरकार गठन गर्न कम्तीमा ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३र३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १र१ र स्वतन्त्रबाट १ प्रदेशसभा सदस्य निर्वाचित छन् । -कान्तिपुर

