दाङ । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएसँगै माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार बन्दैछ । बिहीबार लुम्बनी प्रदेश सभाको विशेष अधिवेशनलाई सम्बोधन गरेर राजीनामा दिएका चौधरीले इमेल मार्फत प्रदेश प्रमुख कहाँ राजीनामा पठाएपछि नयाँ सरकार निर्माण प्रक्रिया अघि बढेको छ ।
प्रदेशमा एमाले–माओवादीको सत्ता गठबन्धनमा जसपालाई दुई मन्त्रालय, नेकपा एसलाई एक र सरकारमा बहुमत पुर्याउन सहयोग गर्ने नवलपसारी २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेतलाई पनि मन्त्री बनाउने दलहरुबीच लिखित सहमति भएको छ ।
नेकपा समाजवादीकी सांसद भगवती अधिकारी र सरकारका लागि बहुमत पुर्याउन सहयोग गर्ने बस्नेत पनि मन्त्री बनाउन माओवादी संसदीय दलका नेता महरा, एमाले दल नेता लिला गिरी, जसपा दल नेता भण्डारीलाल अहिर, नेकपा एसका दल नेता भगवती अधिकारी र स्वतन्त्र सांसद खड्क बस्नेतले ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
जसपालाई कृषि, भूमि व्यवस्था र सहरी विकास तथा पर्यटन मन्त्रालय दिने सहमति भएको छ । अधिकारी र बस्नेतको मन्त्रालय टुंगा लागेको छैन ।


लुम्बिनी प्रदेश सभामा ८७ मध्ये एक जना निलम्बनमा परेपछि सांसदको संख्या ८६ छ । आवश्यक बहुमत ४४ चाहिन्छ । नयाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका माओवादी संसदीय दलका नेता महराको पक्षमा एमालेका २९, माओवादीका १०, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४४ सांसद सहितको बहुमत पुगेको छ ।

