भैरहवा । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) कारोबार र ओसारपसारमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।रुपन्देहीको रोहिणी–३, रामनगरमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले शुक्रबार जाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित ती व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले बताए ।
उनका अनुसार पक्राउ व्यक्तिलाई आइतबार जिल्ला अदालतमा पेश गरेर थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गराइएको छ । पक्राउ पर्नेमा रोहिणी–३,का अनरजित यादव, रोहिणी–३, कै आशिष यादव र रोहिणी–१ का सहदेव हरिजन रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ७५ ग्राम ४ सय १० मिलिग्राम, लु४८प ८८७ नम्बरको मोटसाइल र तीन थान मोवाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

