काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्।अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका हुन्।
‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ’, उनले भने, ‘तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ।’
बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको भन्दै उनले मन्त्रीहरूबाट परिणाममुखी काम गर्ने आशा राखेको बताए। पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्न लागेको महाधिवेशनको तयारी शुरु गरेको छ।
अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ।
महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले संगठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ। पार्टीले राजनीतिक, समाजवादी कार्यक्रम, सांठनिक र विधान प्रतिवदेन लेखनकार्य ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ। महाधिवेशन केन्द्रित अभियान दुई महिनासम्म सञ्चालन गरेकामा यही चैत २५ गतेसम्म चल्ने छ।
पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरी ती प्रतिवेदनका आधारमा एउटै दस्तावेज तयार गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत गरिने जनाइएको छ।

