भेटीबाट सामाजिक क्षेत्रमा योगदान बढाउँदै सुपा देउराली मन्दिर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । महेन्द्र राजमार्गको गोरुसिङ्गे–सन्धिखर्क सडक मार्गको ४३ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपा देउराली मुख्य सडक मार्गमा अवस्थित रहेको छ । शीतगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका वडा नं. ७ को सिमानामा सुपा देउराली मन्दिर पर्दछ । प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत शृङ्खला अन्तर्गत पहाडको खोँचमा रहेको मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौँ भक्तजनहरू आउने गर्दछन् ।

आफ्नो मनोकामना पूरा होस भन्दै बोका, पाठी तथा नरिवल, परेवा, जिन्सी समानहरू मन्दिरमा चढाउने चलन रहेको छ ।

सुपा देउराली मन्दिरले सनातन धर्म संस्कृतिको प्रबद्र्धनमा टेवा त पुर्‍याएको छ नै, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको छ । सन्धिखर्क नगरपालिका अन्तर्गतको आदर्श मा.वि. खाँचीकोट, शितगङ्गा नगरपालिकाको सिता आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय सञ्चालनार्थ आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा क्षेत्रमा मासिक १ लाख ६० हजार भन्दा धेरै सहयोग गर्दै आएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष फर्स बहादुर केसीले बताउनुभयो ।

सन्धि खर्कमा गौशाला र बेद विद्याश्रम, सिद्धेश्वर मन्दिर लगायतका मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष केसीको भनाई छ । मन्दिरको भेटीबाट गाँउमा बिद्युतीकरण,शौचालय निर्माण,सडक निर्माण,भूकम्प तथा दुखमा परेका समुदायमा सहयोग लगाएतका सामाजिक कार्यमा वार्षिक लाखौँ रकम खर्च गर्ने गरिएको छ ।

सुपा–देउरालीमा वार्षिक एक करोड बराबर भेटी सङ्कलन हुन्छ । मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री र शिक्षकलाई तलब  तथा विकास निर्माणका काममा खर्चेर बाकी रहेको रकम बैङ्कमा बचत गर्ने गरिएको केसीले बताउनुभयो । मन्दिरको आम्दानीले आफ्नै गाउँमा विद्यालय सञ्चालन हुँदा खाँचीकोट र सीतापुरबासी खुसी छन्  ।

दर्शनार्थीले चढाएको भेटी पारदर्शी रूपमा सङ्कलन गरी शिक्षा तथा समाज सेवाका साथै विकास निर्माणका काममा खर्च गरिनु उदाहरणीय काम हो ।

वि.सं. १६०० ताका खाँचीको राजकुलमा देवीले जन्म लिएकी थिइन । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको बिहे भयो । यो विवाह उनको मन्जुरी विनाको थियो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखियो । त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोग व्याधि पनि फैलियो । धेरै धामी झाँक्रीहरू डाकेर सोधियो ।

एक जना खनाल थरका धामीले राजकुमारीको इच्छा विपरीत विवाह गरिदिएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोही अनुसार गरियो । त्यसपछि गाउँमा रोग व्याधि पनि हरायो । देवी शिलाको रूपमा प्रकट भइन । त्यसपछि त्यहाँ देवीको पूजा द्वारा अर्चना गर्न शुरु गरियो । त्यसैले अहिले पनि सो मन्दिरमा खनाल थरका पुजारीले दैनिक पूजा सञ्चालन गर्दै आइरहेका छन् ।

२०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्ति पीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाङ्क्षा पूरा हुने र भाकल अनुसार पूजा गर्ने चलन छ ।

हाल रहेको मन्दिर नरनारायण बाबाको विशेष सक्रियता एवं भक्तजनको सहयोगमा २०६५ सालमा कलात्मक शैलीमा पुनर्निर्माण गरिएको छ ।

सरकारले घोषणा गरेका १ सय उत्कृष्ट गन्तव्य सुचीमा सुपा देउराली मन्दिर पनि समावेश रहेको छ ।

दर्शनार्थिको चहलपहलका कारण मन्दिर वरपर विभिन्न किसिमका व्यवसाय सञ्चालन भइरहेका छन् । फोटो स्टुडियो, पूजा सामग्री, मिष्ठान्न भन्डार तथा होटल जस्ता व्यवसाय बाट दुईसय जना प्रत्यक्ष रोजगारीमा जोडिएका छन् भने १८ जना पुजारीको समेत मन्दिरबाटै रोजीरोटी चलेको छ ।

मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *