भैरहवा । बिना दर्ता अवैध रुपमा संचालनमा रहेका रुपन्देहीका तीनवटा ट्राभल एजेन्सी कारवाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले शुक्रबार स्थलगत अनुगमन पश्चात् ट्राभल एजेन्सी जरिवानासहित कारबाही गरेको हो । कारवाहीमा परेको ती एजेन्सी सिद्धार्थनगर नपा–१ बेलहियास्थित भैरहवा भन्सार नाकाको सिमा क्षेत्रमा संचालनमा रहेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले कारवाहीमा परेका तिनवटै ट्राभल एजेन्सीलाई जनही २० हजार रुपैयाका दरले जरिवाना गरिएको बताए ।
ग्रिन ल्याण्ड टुर्स प्रालि, सी एण्ड के ट्राभल र ओम ट्रयूली नेपाल ट्राभल्स एण्ड टुर्सलाई जरिवाना सहित कारबाही गरिएको हो । अनुगमन समितिले शुक्रवार सिमावर्ती बेलहिया र भैरहवा क्षेत्रमा रहेका १६ वटा ट्राभलहरुको अनुगमन गरेको थियो ।
प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ अनुरुप ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नु पूर्व अनुमति लिनपर्ने र यदि अनुमतिबिनै संचालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । उपभोक्ता हित संरक्षण ऐन अनुरुप भने जिल्ला प्रशासन कार्यालयलाई यस खालका एजेन्सीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले अहिले बजारमा आर्थिक सिथिलता देखिएको र व्यवसायी समस्या परेकाले उपभोक्त हीत संरक्षण ऐनको सट्टा पर्यटन ऐन अनुसार जरिवाना गरिएको बताए । ‘कारवाहीमा परेका ति ट्राभललाई तत्काल बन्द गर्न लगाई सबै निकायबाट इजाजत लिएपछि मात्रै संचालन गर्न निर्देशन गरेका छौं’, अर्यालले भने, ‘बिना दर्ता नै पुन संचालन गरेरनगरेको वारेमा पुनः अनुगमन गर्ने छौं ।’
अनुगमनमा रहेकी पर्यटन डिभिजन कार्यालय, रुपन्देहीकी प्रमुख गीता आचार्यले अनुगमनका क्रममा केही दर्ता बिना र केही नविकरण नगरि संचालन गरेको पाइएकाले चैत्र मसान्तभित्रै नविकरण गराउन भनिएको बताइन् ।

