पोलियो र डिपिटी खोप अभाव हुँदा बालबालिका खोप लगाउनबाट वञ्चित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

खजुरा । स्वास्थ्य कार्यालय बाँकेमा बालबालिकालाई नियमित रुपमा लगाउनुपर्ने पोलियो र डिपिटी खोप अभाव भएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको हो ।

उक्त उमेर समूहका बालबालिकालाई नियमित रुपमा प्रत्येक महिना लगाउनुपर्ने उक्त खोप जिल्लाका स्वास्थ्य चौकीहरुमा नपुग्दा बालबालिकाहरु खोप लगाउनबाट वञ्चित भएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष रामलखन थारुले प्रत्येक महिना बालबालिकालाई दिनुपर्ने खोप वडाको स्वास्थ्य चौकीमा नआउँदा बालबालिकाहरु नियमित खोप लगाउनबाट वञ्चित भएको बताउनुभयो । उहाँले झण्डै दुई महिनादेखि स्वास्थ्य कार्यालय बाँकेले नियमित लगाउनुपर्ने खोप स्वास्थ्य चौकीमा नपठाएको जानकारी दिनुभयो ।

“प्रत्येक महिना आउनुपर्ने पोलियो र डिपिटी खोप विगत दुई महिनादेखि स्वास्थ्य कार्यालय बाँकेले पठाएको छैन, जसका कारण खोप प्राप्त गर्नुृपर्ने बालबालिका सेवा लिनबाट वञ्चित भएका छन् ।” वडाध्यक्ष थारुले भन्नुभयो, “यो समस्याको यथाशीघ्र समाधान होस्, सबै प्रश्नको जवाफ जनताले हामी जनप्रतिनिधिसँग माग्नुहुन्छ, हामीले के जवाफ दिने ? स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही किन ?”

स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चेन निरीक्षक जनकराज गिरीले कार्यालयमा विगत केही समयदेखि पोलियो र डिपिटीको खोप नभएको बताउनुभयो । उहाँले गत माघ महिनादेखि नै जिल्लामा मागअनुसार खोप परिपूर्ति गर्न नसकिएको र नियमित हुन नसकेको बताउनुभयो ।

निरीक्षक गिरीले जिल्लामा उक्त खोप नहुँदा नियमित रुपमा खोप प्राप्त गर्नुपर्ने बालबालिकाहरुले खोपको मात्रा नपाएको तथा खोप अभाव भएको भनेर पटक पटक प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माग गरेको बताउनुभयो ।

“गत माघदेखि नै हामीसँग पोलियो र डिपिटी खोपको अभाव छ, स्वास्थ्य चौकीहरुबाट माग भएअनुसार नियमित परिपूर्ति गर्न सकेका छैनौं, खोप आपूर्ति गर्ने निकाय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पटक पटक माग गरेका छौं, तर पनि खोप आएको छैन, बालबालिकाहरुले नियमित खोपको मात्रा पाउन सकेका छैनन् ।” निरीक्षक गिरीले भन्नुभयो ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ वटा रोगविरुद्ध नियमितरुपमा ९ किसिमको खोप लगाउनुपर्ने उहाँको भनाइ छ । बाँकेमा उक्त खोप लगाउनुपर्ने बालबालिकाको सङ्ख्या १३ हजारको हाराहारीमा रहेको गिरीले बताउनुभयो । जिल्लामा पोलियो र डिपिटीको खोप नहुँदा नियमितरुपमा खोप प्राप्त गर्नुपर्ने १३ हजार बालबालिका उक्त सेवाबाट वञ्चित छन् । -गोरखापत्र 

Leave a Reply

Your email address will not be published. Required fields are marked *