पाल्पामा स्वास्थ्य स्वयम्‌सेविकाहरुको सम्मानसहित बिदाइ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाले ६० वर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयम्‌सेविकालाई सम्मानसहित बिदाइ गरेको छ । लामो समयदेखि मातृशिशु स्याहारमा क्रियाशिल जिल्लाका ११ जना स्वास्थ्य स्वयम्‌सेविकालाई सम्मानसहित बिदाइ गरिएको हो ।

संघीय सरकारले २० र प्रदेश सरकारले ५० गरी ७० हजार नगदसहित बिदाइ गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरीले बताए । सम्मानित हुनेहरुमा रिब्दीकोट गाउँपालिका, पालुङमैनादीकी तुलसादेवी कुंवर, विमला थापा, शिव कुमारी कुंवर, रत्नकुमारी कुंवर क्षेत्रीलाई सम्मानसहित बिदाइ गरिएको छ ।

यसैगरी तानसेन नगरपालिका, बौघापोखराथोककी दुर्गादेवी थापा, रुक्मादेवी थापा, रम्भा गाउँपालिका हुँगीकी मथुरा पाठक, पूर्वखोला जल्पाकी सीता आचार्य, रिङनेरहकी टिकामाया गाहा, निस्दी झिरुवासकी थनिसरा सोती मगर, रैनादेवी छहरा जुठापौवाकी कमला उपाध्याय शर्मा रहेका छन् ।

पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले मुल्यांकन गरेर रकमसहित बिदाइ गर्ने गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले स्वास्थ्य क्षेत्रको पहिलो भेटिने स्वयम्‌सेविका भएकाले नागरिकको स्वास्थ्य सुधारका लागि ठूलो योगदान रहेको बताए ।

पूर्वखोला, जल्पाकी स्वयम्‌सेविका सीता आचार्यले अब अग्र भूमिकामा नरहे पनि आवश्यक परेका बेला सकुन्जेल सहयोग गर्ने बताइन् । मातृमृत्युदर घटाउन, आमा र बच्चाको स्वास्थ्यका साथै परिवार योजनामा महत्वपूर्ण भूमिका रहेको पत्रकार महासंघ जिल्ला अध्यक्ष रेखीराम रानाले बताए ।

स्वास्थ्य स्वयम्‌सेविकालाई पछिल्लो समय कतिपय स्थानीय तहहरूले नगदसहित बिदाइ गर्ने गरेका छन् । बगनासकाली, रम्भा, निस्दी, पूर्वखोला लगायतका पालिकालेसमेत नगदसहित बिदाइ गर्ने गरेका हुन् । निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले गाउँघरमा अझै पनि स्वास्थ्य स्वयम्‌सेविकाको भूमिका अतुलनीय रहेको बताए । -कान्तिपुर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *