दाङमा सार्वजनिक जग्गा संरक्षणका लागि प्रशासनद्वारा खोजी कार्य सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

घोराही । दाङमा सार्वजनिक जग्गा संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले खोजी गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेर सार्वजनिक जग्गा अतिक्रमण गरेकोबारे जानकारी दिन आग्रह गरेको हो ।

अतिक्रमणमा परेको जग्गा खोजी गरेर अभिलेखीकरण गरिने प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभएको छ । तथ्याङ्क सङ्कलन  गरेर आफ्नो  क्षेत्राधिकारभित्र पर्ने जग्गामा भएको अतिक्रमण आफैँ हटाएर जग्गा संरक्षण गरिने  र आफनो क्षेत्राधिकारमा नपर्ने जग्गाका सम्बन्धमा गृह मन्त्रालयमा जानकारी गराइने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो,‘सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नका लागि जग्गाको खोजी गर्न थालेको छ ।’ जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारको नाममा रहेका सरकारी, सार्वजनिक प्रयोजनको लागि सार्वजनिक स्वामित्वमा रहेका ऐलानी जग्गा, सार्वजनिक घर, सार्वजनिक ढल वा बाटो, कुवा, पँधेरो, पानी धारा, इनार, पोखरी, गौचरन, चिहान, मसानघाट, पाटी, पौवा, खेलकुद सञ्चालन गर्ने स्थान आदि जग्गा कानुनविपरीत प्रयोग, अतिक्रमित, गैर कानुनी कब्जा, गैर कानुनी नियन्त्रण र लिजमा लिएको, भोगचलन गरेको वा अस्थायी÷स्थायी घर, टहरा निर्माण गरेको भए जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन सबैमा आग्रह  गरेको छ ।

यसै गरी अतिक्रमण गरी नाममा दर्ता गरेको वा कुनै खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोग चलन वा नियन्त्रणमा रहने गरी सुम्पेको, जिम्मा दिएको, सरकारी र सार्वजनिक जग्गाहरू बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको, हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रणमा लिई लिजमा दिएको वा सार्वजनिक, सरकारी जग्गा दुरुपयोग गरी व्यक्तिगत र संस्थाको नाममा दाखिला खारेज गरेको वा अरू स्वामित्व कायम गरेको वा त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, भोगाधिकार हस्तान्तरण गरेको, धितो बन्धकी राखेकोलगायतका बारेमा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन जिल्लावासीमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *