दाङ। दाङमा गएराति भएका दुई फरक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
दाङको दंगीशरण गाउँपालिका–५ का २५ वर्षीय सम्राट गिरीको दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
शुक्रबार राति १० बजेतिर तुलसीपुर बजारदेखि पश्चिमतर्फ जाँदै गरेका गिरी सवार लु प्र०२–००१ प ०९४६ नम्बरको मोटरसाइकल दंगीशरण– ५ डाँडाचिसमा रोकेर राखेको रा १ त १४२२ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएको थियो।
गम्भीर घाइते गिरीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारको क्रममा सम्राटको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, बबई गाउँपालिका– ७ का २९ वर्षीय ट्याक्टर चालक इन्द्रबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घोराहीमा अर्का एक जना घाइते भएका छन्।
घोराही उपमहानगरपालिका– १५ दिपसिखा चोकका २८ वर्षीय शक्तिसिंह जिसी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार घोराही– १५ दिपज्योति अस्पतालनजिक घोराही बजारतर्फ आउँदै गरेको रा १ ख २२५४ नम्बरको टिप्परले रा १ प ८८५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिएको थियो।
घाइते जिसीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमाबाट थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकलक कलेजमा रिफर गरिएको जनाइएको छ।
टिप्पर चालक घोराही– १५ भरतपुरका २४ वर्षीय प्रबिण चौधरी प्रहरी नियन्त्रणमा जनाएको छ।
यस्तै, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

