दाङको रात्रि प्राविमा दुई तहका विद्यार्थी एउटै कक्षामा पढ्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 दाङ। दाङको राप्ती गाउँपालिका-४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बिचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ । गाउँ ठुलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ ।

कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल २१ जना मात्रै विद्यार्थी छन् । शिशु कक्षामा एक जना पनि विद्यार्थी छैनन्, भने कक्षा १ मा छ, कक्षा २, ३ र ४ मा तीन-तीन र कक्षा ५ मा छ जना विद्यार्थी छन् । तीमध्ये विद्यालयमा केही मात्रै आउँछन् ।

“सबै विद्यार्थी विद्यालय आउने गरेका छैनन् । त्यसैले पनि दुई तहका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ”, प्रधानाध्यापक बुद्धिमान चौधरीले भन्नुभयो । कहिले कक्षा १ र २ लाई र कहिले २ र ३ लाई सँगै राखेर पढाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । “विद्यार्थी थोरै छन्, कहिल्यै १ र २ तथा कहिले २ र ३ लाई एउटै कक्षामा राखेर पढाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा विद्यार्थीहरू पढाइमा अन्योल पर्ने गर्छन् ।”

गत वर्ष ४५ जना विद्यार्थी रहे पनि यस वर्ष विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको प्रअ चौधरीले जानकारी दिनुभयो । नजिकै बोर्डिङ स्कुल खुलेकाले पनि सबै विद्यार्थी उतै गएका उहाँको भनाइ छ । उहाँका अनुसार विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् । नयाँ पुस्ताले विद्यालयको नेतृत्व हाँकेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन सक्ने प्रअ चौधरीले अनुभव सुनाउनुभयो । “हामी बुढो भइसक्यौँ, मलाई अन्त सरुवा गरे हुन्थ्यो”, उहाँले भन्नुभयो, “विद्यालयको नेतृत्व युवाले गर्नुपर्छ, अनि मात्रै सुधार हुन्छ ।” -रासस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *