पाल्पा । एक सातामा तिनाउ खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर बुधबार एक किशोरले ज्यान गुमाएका छन् भने चार दिनअघि भारत गोरखपुरबाट घुम्न आएका एक युवाको तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो ।
पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबानजिक तिनाउ खोलामा पौडी खेल्ने क्रममा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७, हिलपार्कका १७ वर्षीय राजीव लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चार जना साथीहरु मिलेर खोलामा पौडी खेल्न गएको र राजीवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।
भारतको गोरखपुर बस्ने ३४ वर्षीय युवा ओनकारनाथ सिंहको गत आइतबार तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो । गोरखनाथ मन्दिर गोरखपुर बस्ने सिंह तीन जना साथीसहित तिनाउ खोलामा गएको थिए । धमिलो पानी भएको र फोटो खिच्ने क्रममा चिप्लिएर लडेको प्रहरीले जनाएको छ । सिंह रेल्वे स्टेशनका कर्मचारी थिए ।

