जनहित अनलाइन, कपिलवस्तु । ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यलाई तिव्र बनाएको छ । जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा सचेतना कार्यलाई तिव्र बनाइएको हो ।
तौलिहवा मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा करिब दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिनुभयो । साथै उहाँले यसलाई निरन्तरता दिने समेत बताउनुभएको छ ।
सदरमुकाम बजार क्षेत्रमा ६ लेन सडक अवधारणा भई सकेकाले सबैलाई लेन पालनामा सचेत गराइएको छ । विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत खड्काले बताउनुभयो । सवारी नियम उलंघन गर्ने सवारीहरु उपर सवारी नियम बमोजिम कारबाही गरिएको छ । कारबाही अनुसार बुझाउनु पर्ने शुल्कलाई अहिले अनलाइन सिस्टम पनि बनाएकोले सहज भएको उहाँले बताउनुभयो ।
भरपूर ट्राफिक प्रहरीको सक्रियताका कारण विगतको तुलनामा यस क्षेत्रमा दुर्घटनामा कमी देखिएको तथा विना हेलमेट मोटरसाइकिल चलाउनेमा समेत कमी आएको स्थानीयले बताएका छन ।



