जनता माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पाण्डे पुन: सर्वसम्मत चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- २ मा अवस्थित जनता माध्यमिक विद्यालय पिपराको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद पाण्डे पुन: सर्वसम्मत चयन भएका छन् । पाण्डे दोस्रो कार्यकालको लागी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

विद्यालयमा विहिबार बसेको बैठकले अध्यक्षमा पाण्डेलाई दोहोर्याउने निर्णय गरेपछि उनी पुनः अध्यक्षमा चयन भएका हुन् । यस्तै समितिको सदस्यमा अभिभावक भेलाबाट चयन भएका नेत्र बन्जाडे, सीता लामिछाने, नमुना पौडेल, सावित्रा थारु चयन भएका छन् भने मनोनित सदस्यका रुपमा सुशीला थारु र शिक्षक प्रतिनिधिका रुपमा विद्यालयका सहायक प्रअ लक्ष्मी भण्डारी चयन भएकी छिन् ।

विगत २७ वर्षदेखि सोही विद्यालयमा शिक्षण पेशामा आबद्ध अध्यक्ष पाण्डेकाे अनुभव र विद्यालयप्रतिको समर्पणले उनीलाई अध्यक्षमा पुनः चयन हुन सहयोग पुगेको बताईएकाे छ । पाण्डे कपिलवस्तुमा पहिलाे पटक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम संचालन गर्ने जनता माविका काेर्डिनेटर समेत रहेका थिए । दोस्रो कार्यकालको लागी अध्यक्षमा चयन भएका पाण्डेले विद्यालयलाई आगामी दिनमा थप योजनाबद्ध तवरले अघि बढाउने बताए ।

उक्त समितिलाई सफल कार्यकालको शुभकामना दिदैं वडाध्यक्ष विष्णु प्रसाद पौडेलले दिएका थिए उनले प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित यस विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा स्थापित गर्ने गरि लाग्न आग्रह गरेका छन् । उनले वडा पनि सदैव विद्यालयको साथमा रहेको बताउँदै नगरपालिकासंगै तथा अन्य तहमा विद्यालयका लागी आवश्यक समन्वयन गर्ने प्रतिवद्धता जनाए ।

विद्यालयका प्रअ रमेश पन्थीले सफल कार्यकालको शुभकामना दिदैं विद्यालयका समस्या र आवश्यकतालाई यस समितिले थप गम्भिरताका साथ लिएर समाधान गर्ने दिशातर्फ उन्मुख हुनेमा आफु विश्वस्त रहेको बताए । उनले विद्यालयको यो उत्कृष्टतालाई कायम राख्दै थप रचनात्मक तवरले समितिसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *