चारनम्बरमा ‘महावीर पुन’ नामक किताब किन्नेको घुइँचो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै कपिलवस्तु आइपुग्नुभएको छ । आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उहाँ आज शनिवार बिहान १० बजे जिल्लाको चारनम्बर आइपुग्नुभएको हो ।

वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उहाँले किताब बेचिरहनुभएको छ । प्रति किताब ७ सय रुपैयाँमा बिक्री भैरहेको उक्त किताब किन्न चारनम्बरमा भिड लागेको थियो । विद्यार्थी, सञ्चारकर्मी, शिक्षक, स्थानिय लगायतले उत्साहजनक रुपमा उक्त किताब किनेका थिए ।

चारनम्बरमा किताब बेच्दै उहाँले देशका एक तिहाइ नागरिक झन्डै तीन लाख जतिले आफ्नो किताब किनेमा मात्रै करिब १६ करोड रकम संकलन हुने बताउनुभयो । पुनले भन्नुभयो, ‘त्यो रकमले वीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उद्देश्य पुरा हुनेछ ।’ आफू यसको अभियन्ता भएको र किताब किन्ने हरेक व्यक्ति कृषि कारखाना स्थापनाका हिस्सेदार हुने पनि उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले सारा युवा विदेश पलायन भइरहँदा निराश युवाहरूमा आफ्नो सोचाइ परिवर्तन गराउन र उनीहरूमा प्रेरणा थप्न आवश्यक रहेको बताउनुभयो । जीवनका गोरेटोमा आउने मोडहरूमा आफुले चालेका कदमहरु, अमेरिका पढ्न गएको कारण र त्यसपछिका घटनाक्रमलाई किताबमा उतारेको उहाँले बताउनुभयो ।

महवीर पुनको समुहलाई होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले समन्वय गरिरहेको छ । संघका अध्यक्ष रविन्द्र पौडेलले प्रेरणाको स्रोतका रुपमा रहेको उक्त पुस्तक किनेर कृषि औजार कारखाना स्थापना गर्न सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *