काठमाण्डाै । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाल्पाको जाल्पा, कुमलगाउँ, गैँडाकोट र आसपास ठूलो वर्षा मापन भएको छ । रुपन्देहीको तिलोत्तमा आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले त्यस क्षेत्र भएर बग्ने तिनाउ नदी र यसका सहायक नदीमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई बिहान १० बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै कपिलवस्तुको कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भागमा रहनेलाई बिहान ९ बजेसम्म सतर्कता अपनाउन भनिएको छ ।
यस्तै प्युठानको लुङ्ग्री नदी, खुङ्ग्री जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।


