कपिलवस्तु, फागुन २३ गते । कपिलवस्तु नगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुलाई रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण र रोकथामका लागि नगरपालिकाले प्रहरीलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको हो ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल प्रजिअ बिश्व प्रकाश अर्यालले प्रहरी उपरीक्षक नवरत्न पौडेललाई रोड ब्यारिगेट हस्तान्तरण गरेका थिए । सो अवसरमा नगर प्रमुख पौडेलले दुर्घटनाको सङ्ख्या बढे पछि प्रहरीको आग्रह अनुसार आफूहरूले ब्यारिगेट उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नगरपालिकाका व्यस्त चोक र चौराहामा ब्यारिगेट राखियो भने दुर्घटना रोकथामका लागि सहयोगी बन्ने छ ।’
प्रजिअ अर्यालले सुरक्षा समितिमा गरेको सल्लाह अनुसार प्रहरीले विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि त्यत्ति उपलब्धि हुन नसकेको बताउनुभयो । कपिलवस्तुमा दुर्घटनाको सङ्ख्या निरन्तर बढ्नु चिन्ताको विषय भएको भन्दै उहाँले दुर्घटना न्यूनीकरणका लागि नागरिकहरू आफै सचेत हुनु पर्ने बताउनुभयो ।

