कपिलवस्तुका १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्न चुनौती

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्नु चुनौती बनेको छ।  कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन्।  जसले बालीनाली मात्र नाश गरेका छैनन् पशु चौपायाकै कारण सडक यात्रा जोखिमपूर्ण बनेको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का कृषक जनार्दन यादवका अनुसार खेतमा लगाइएको धानबाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ।  आफ्नो खेतबारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाले खेतमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल हुने गरेको उहाँको भनाइ छ।  उहाँले भन्नुभयो, ‘छाडा गाईगोरु दिनभर बजार क्षेत्रमा डुलेर हैरानी गर्छन्।  रात परेपछि खेतबारीमा लगाएको धानबाली नोक्सान गर्दछन्।

कपिलवस्तु नगरपालिका-३ का कृषक विजय चौधरीका अनुसार छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परेको छ।

अधिकारकर्मी पशुपतिमणि त्रिपाठीका अनुसार पालिकाले दीगोरूपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीको रूपमा देखिएको बताउनुभयो।  छाडा चौपायाको व्यवस्थापनका लागि यहाँको स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख एवम् प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको बताउनुभयो।

पशु चौपाया सडकमै बस्ने भएकोले रातको समयमा बढी दुर्घटना हुने गरेकाले दिगो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।  गत आर्थिक वर्षमा छाडा चौपायाका कारण तीन वटा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु समेत भएको उहाँले बताउनुभयो।  छाडा चौपायाले अन्नबाली खाएर नष्ट गरेको भन्दै कपिलवस्तुको मायादेवी गाउँपालिकाका स्थानीय बासिन्दाले छाडा चौपाया गाई, गोरु गाउँपालिका कार्यालय परिसरभित्र थुनिदिँदा गाउँपालिकाको सम्पूर्ण काम ठप्प भएको थियो। -नारद कोहार/गोरखापत्र  

Leave a Reply

Your email address will not be published. Required fields are marked *