एसइईमा विद्यार्थीलाई चिट चोर्न सघाउने बाँकेका दुई परीक्षा निरीक्षक निष्कासित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

खजुरा। बाँकेको एक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीलाई चिट चोर्न सघाउने दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको सिद्देश्वर माध्यमिक विद्यालय सिधनवा परीक्षा केन्द्रमा आइतबार गणित विषयको परीक्षा सञ्चालनका क्रममा विद्यार्थीहरूले गाइड राखेर चिट चोरी रहेको अवस्थामा सोही कक्षाकोठामा डिउटी गरिरहेका परीक्षा निरीक्षक द्वय दिर्घराज बजगाईँ र सविता कसेराले विद्यार्थीहरूलाई चिट चोर्न मद्दत गर्दै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको निरीक्षण टोलीले फेला पारी निष्कासन गरेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुरेश यादवले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले उक्त विद्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको नेतृत्वको टोलीले आकस्मिक निरीक्षण गर्दा आइतबार अनिवार्य गणित विषयको परीक्षा सञ्चालनका क्रममा परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउनु पर्ने जिम्मेवारी र दायित्वमा रहेका परीक्षा निरीक्षक द्वय दिर्घराज बजगाईँ र सविता कसेराले आफ्नो पदीय कर्तव्य पूरा गर्न नसकेको पाइएकाले दुवै जनालाई जिम्मेवारीबाट हटाइएको जानकारी दिनुभयो । उहाँले प्रचलित कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।

परीक्षालाई स्वच्छ र मर्यादित तुल्याउनु पर्ने अहम् भूमिका केन्द्राध्यक्ष र निरीक्षक स्वयम् हुने भएकाले आगामी दिनमा यसतर्फ सचेत, जिम्मेवार र जबाफदेही रहन सबै केन्द्राध्यक्ष तथा निरीक्षकहरूलाई अनुरोधसमेत गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *