चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा आज मंगलबार देखि किशोरीहरुको रक्तअल्पता परिक्षण कार्य सुरु गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ मा अवस्थित जनता माध्यमिक विद्यालय बाट विद्यालयका किशोरीहरुको रक्तअल्पता परिक्षण सुरु गरिएको बाणगंगा नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।
औपचारिक सत्रमा कार्यक्रमको उद्देश माथी प्रकाश पार्दै प्रमुख पौडेलले गत वर्ष बाणगङ्गाका २ वटा विद्यालयका छात्राहरुको रक्त परिक्षण गर्दा ५१ प्रतिशत छात्रामा रक्तअल्पता देखिएको भन्दै १० वर्षदेखि माथिका किशोरीहरुलाई आइरन चक्की प्रदान गरिएकोले त्यसैको प्रभावकारिता परिक्षणको लागिपनि रक्त परिक्षण गर्न लागिएको बताउनुभयो । रक्त परिक्षण कार्यक्रम स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा भएको हो । नगर भित्रका ८ वटा विद्यालयको स्वास्थ्य शाखा कार्यालय कपिलवस्तु र अन्य सम्पुर्ण विद्यालयहरुमा नगरले नै परिक्षण गर्ने जनाइएको छ । २ महिना भित्र सामुदायिक र संस्थागत गरि ५३ विद्यालयका किशोरीहरुको रक्त परिक्षण गर्ने लक्ष लिइएको शाखा प्रमुख पौडेलले बताउनुभयो । त्यस्तै उहाँले रक्तअल्पताका असर, कारण र यसलाई नियन्त्रण गर्ने उपायको बारेमा समेत विद्यार्थी माझ प्रष्ट पार्नुभएको थियो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरलाई स्वास्थ्यको क्षेत्रमा पनि अब्बल बनाउनको लागि यस्ता कार्यक्रमलाई तिव्रता दिइरहेको बताउनुभयो । परिक्षण बाट निस्किएको परिणाम अनुसार आगामि कार्यक्रमहरु तय गरिने मेयर अर्यालले बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक रमेश पन्थिले स्वागत मन्तव्य राख्दै नगरपालिकाले यस्तो महत्त्वपूर्ण कार्यको लागि आफ्नै विधालयलाई छनोट गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, स्वास्थ्य कार्यालय कपिलवस्तु र नगर स्वास्थय शाखाका कर्मचारी, शिक्षक विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक सम्भु अधिकारीले गर्नुभएको थियो ।



