जनहित अनलाइन, कपिलवस्तु । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुका ३ पालिकाले सार्वजनिक विदा दिएका छन । केहि दिनदेखि बढीरहेको उखरमाउलो गर्मी र तातो हावाका कारण पठनपाठनमा कठिनाइ भएको भन्दै विदा दिने निर्णय गरेका हुन ।
जिल्लाको यशोधरा, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन । आज एक सुचना जारी गर्दै जेठ १६ गते देखि १८ गते सम्म बिद्यालय बन्द हुने जानकारी दिएका हुन ।
जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिने मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज परियारले बताउनु भयो । उहाँले बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले गर्मी बढ्दै गएमा बिदाको समय लम्ब्याइने सक्ने बताउनु भयो ।
कपिलवस्तु नगरपालिकाको जेठ १४ को निर्णय अनुसार भोली गणतन्त्र दिवसको सार्वजनिक बिदा भएकाले १६ गते देखि १८ गते सम्म ३ दिन सम्म बिदा दिने निर्णय गरेको जानकारी दिएको छ । यद्यपि कपिलवस्तु नगरपालिकामा जेठ ६ गते देखि बिहानी कक्षा संचालन हुदै आएको थियो । बिगत केहिदिन देखि गर्मी बढेकाले दिवा कक्षा संचालन तथा पठनपाठन गर्न कठिनाई भएकोले कपिलवस्तु नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयलाई बिहान ६ बजे देखि कक्षा संचालन गर्न निर्देशन दिएको थियो । बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म तातो हावा र उम्सोले जनजीवन प्रभावित भएको छ ।


